रूपन्देही–३ : दुई ध्रुवका दुई खेलाडी, कसले मार्ला बाजी ?
भैरहवा– एमाले उपमहासचिव घनश्याम भुसाल धारिलो वैचारिक बहस चलाएर राष्ट्रिय राजनीतिलाई तरङ्गित पार्न सक्छन् । उनले त्यो क्षमतालाई पटक—पटक देखाएका पनि छन् । वैचारिक बहसले मुलुकको राजनीतिलाई तरङ्गित पार्न सक्ने भुसाल अहिले रूपन्देही—३ बाट चुनावी मैदानमा छन् । भुसालसँग राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष दीपक बोहरा प्रतिस्पर्धामा छन् ।
एउटा राजनीतिमा विचारलाई प्रधान ठान्ने, त्यही विचारका आधारमा जनताको मन जित्दा मात्रै राजनीतिले जित्छ, लोकतन्त्रले जित्छ भन्ने । अर्को राजनीतिमा लागेर सबैथोक गर्न भ्याएका र चुनाव जित्न जे पनि गर्ने । जसरी पनि चुनाव चित्नुपर्छ, बस जितेपछि भइहाल्छ भन्ने । दुई फरक धु्रवका यी दुई खेलाडी चुनावी मैदानमा उत्रेको रूपन्देही—३ को चुनाव रोचक मोडमा पुगेको छ । सत्ता, शक्ति र पैसाको आडमा चुनाव जित्ने आकाङ्क्षा पालेका बोहराका लागि भुसाल मैदानमा उत्रेपछि उनलाई हम्मेहम्मे परेको छ ।
भुसालका लागि यी फ्याक्टरले चुनावी मैदानमा जित हात पार्न सहज देखिन्छ ।
वाम गठबन्धन बलियो
रूपन्देही—३ मा सिद्धार्थनगर नगरपालिका, शुद्धोदन गाउँपालिकाका सबै वडा, बुटवल उपमहानगरपालिकाका १४ देखि १९ वडा, तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४, मायादेवी गाउँपालिकाका वडा नम्बर ७ र ८, सियारी गाउँपालिकाको १, २, ३, ६ र ७ तथा ओमसतिया गाउँपालिकाको वडा नम्बर २ पर्छ । स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिका र शुद्धोदन गाउँपालिका एमालेले जितेको थियो । त्यस्तै बुटवल उपमहानगरका ६ वटा वडामध्ये ४ वटा एमालेले र २ वटा काङ्ग्रेसले जितेको थियो भने तिलोत्तमा नगरपालिकाका दुवै वडा एमालेले जितेको छ ।
ओमसतियाको एउटा वडा काङ्ग्रेसले र मायादेवी गाउँपालिकाका दुवै वडा सङ्घीय समाजवादी फोरमले जितेको छ । स्थानीय तहको मत हिसाब गर्दा एमाले एक्लैको २० हजार मत छ । यसमा माओवादीको ४ हजार ८ सय मत जोड्दा वामपन्थी गठबन्धनको मत २४ हजार ८ सय हुन्छ । काङ्ग्रेसको मत १६ हजार ६ सयमा राप्रपाको ४ हजार ८ सय मत जोड्दा २१ हजार ४ सय हुन्छ । यो हिसाबले वाम गठबन्धन साढे चार हजार मतले अगाडि छ, जुन भुसालका लागि जित हात पार्न सहज छ ।
काङ्ग्रेसभित्रको लफडा
रूपन्देही—३ यस्तो क्षेत्र हो जुन भौगोलिक रूपले कुनै पनि हालतमा मिल्दैन । बुटवलदेखि सिद्धार्थनगरसम्म यताउता तानतुन गरेर निर्वाचन क्षेत्र बनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र काङ्ग्रेस नेता बालकृष्ण खाँणले सत्ता शक्तिको आडमा आफूलाई जित्न सजिलो हुने गरी क्षेत्र बनाउन सके । तर स्थानीय चुनावमा भाइलाई तिलोत्तमा नगरपालिकाको मेयरमा बोक्दा जिल्लाभर काङ्ग्रेसमा सल्किएको आगो निभाउन सकेनन् । अन्ततः स्थानीय चुनावदेखि सल्किएको आगोको लप्कोले आफूलाई सिध्याउने सङ्केत पाएपछि खाँण पछि हटे ।
काङ्ग्रेसको टिकट बाँढ्ने समितिमा रहेका उनले पार्टीभित्र अरू कसैलाई सिफारिस पनि गरेनन् । काङ्ग्रेसका पुराना नेता रोमणी पाठक, रामचन्द्र ढकाललगायतलाई अघि सारेर पार्टीभित्रको अन्तरविरोधलाई सन्तुलनमा राख्ने मौकालाई बेवास्ता गरेर उनले राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहरालाई रोजे । बोहरालाई रोज्दा पार्टीभित्रका विरोधीलाई मात्रै नभएर राजनीतिक रूपमा बलियो एमालेलाई पनि सिध्याउने खाँणको योजना चुनाव नजिकिँदै जाँदा असफलतातिर उन्मुख छ । पार्टीभित्रका विरोधीलाई सिध्याउन बोहरालाई बोक्दा पार्टीभित्रबाट खाँणकै टाउकोमा प्रहार हुन थालेको छ, जसलाई सम्हाल्न खाँणका लागि निकै कठिन हुन थालेको छ ।
राम्रो भोट बैङ्क सिद्धार्थनगरमा काङ्ग्रेस देखिने गरी विभाजित छ । काङ्ग्रेसको कोइराला परिवारमा राम्रो पकड राख्ने रामकृष्ण ताम्राकारलाई समानुपातिकमा नराखेपछि उनको मन कुँडिएको छ, ताम्राकार यस्ता नेता हुन्, जसको सिद्धार्थनगरमा राम्रो पकड छ । ताम्राकार निकट युवा नेता ओम श्रेष्ठ क्षेत्र नम्बर ३ को प्रदेश—१ बाट प्रदेश सभासदमा बागी उम्मेदवार दिएका छन् । श्रेष्ठलाई उम्मेदवार नबनाएर बागी उठ्न बाध्य पार्नु पनि बोहराको जितका लागि बाधक बनेको सिद्धार्थनगरका एक पुराना काङ्ग्रेसी नेताले बताए ।
बोहराको धुमिल छवि
दीपक बोहरा पञ्चायतदेखिका राजनीतिक खेलाडी हुन् । सत्ताको आडमा जे पनि गर्न सक्ने र शक्तिमा टिकिरहने स्वभावका उनीप्रति यसपालि मतदाताको वितृष्णा छ । काङ्ग्रेसको मतले चुनाव जित्ने योजना बुनेका बोहराका लागि तिनै काङ्ग्रेसी कार्यकर्ताले विगत कोट्याएर बोहरा कलङ्कित पात्रका रूपमा चित्रण गर्दै छन् । २०४० साल फागुनमा गिरिजाप्रसाद कोइरालाले देश दौडाहा अभियान चलाए । यही अभियानको सिलसिलामा रूपन्देहीको सुरजपुरामा आएर पार्टी कार्यकर्ता र समर्थकलाई भेटिरहेका बेला फागुन २१ गते घर घेरा हालेर आक्रमण भयो । यो आक्रमणका योजनाकार यिनै बोहरा भएको बताइन्छ ।
खुँडाखुकुरी र लाठी प्रयोग गरेर दर्जनौँ काङ्ग्रेस कार्यकर्ता घाइते भए, तीनै घाइतेमध्येका एक यादवनाथ आलोकको ज्यान गयो । यो घटनाका दर्जनाँै घाइतेका शरीरमा धारिलो हतियारको प्रहारको गहिरो चोट पुरिए पनि घाउको दाग र मनमा लागेको चोट पुरिएको छैन् । तिनै बोहरालाई मत माग्नु र खसाल्नु भनेको सहिदप्रतिको अपमान भएको चिल्हियाका काङ्ग्रेस कार्यकर्ता रमेश सुवेदीले बताए ।
बोहरा आयल निगमको जग्गा खरिदमा पनि मुछिएका छन् । आयल निगमका लागि जग्गा खरिदमा ६७ करोड रूपियाँ भ्रष्टाचार भएको यो प्रकरणलाई अख्तियार दुरूपयोग आयोगले छानविन गरिरहेको छ । बोहरा आपूर्तिमन्त्री भएका बेला जग्गा खरिदको प्रक्रिया अघि बढेको थियो । रूपन्देहीको रोहिणी नदीको किनारमा बर्खामा डुवान पर्ने ठाउँमा जग्गा किनाउने यिनै बोहरा हुन्, जग्गाका दलालहरू बोहराका भित्रिया भएको बताइएको छ । बोहराको यो विवादित छविले भुसालको चुनावी अभियानमा सहज बनेको छ ।
वाम गठबन्धनको आक्रामक चुनावी अभियान
गएको संविधानसभामा रूपन्देही—३ बाट चुनाव लडेका भुसाल काङ्ग्रेसका बालकृष्ण खाणसँग ८६ मतान्तरले पराजित भए । थोरै मतान्तरले पराजित भएका कारण एमाले कार्यकर्ता अहिलेसम्म चुकचुक गरेका छन् । विगतको पराजयबाट पाठ सिक्दै अहिले एमालेले आन्तरिक पंक्तिलाई चुस्त परिचालन गरेको छ । त्यो परिचालनमा माओवादी पनि मिसिएपछि आक्रामक प्रचार अभियान जारी छ । भुसालले काङ्ग्रेस प्रतिस्पर्धामा नभएकाले आफ्नो प्रतिस्पर्धी नै नभएको बताएर बोहरालाई चुनौती दिइरहेका छन् ।
प्रदेशमा अवस्था कस्तो ?
रूपन्देही—३ को दुईवटा प्रदेश सभासदमा १ मा माओवादी केन्द्रका विश्वास बराल र २ मा एमालेका तुलसी चौधरी मैदानमा छन् । काङ्ग्रेसबाट विजय गच्छदारसँगै काङ्ग्रेस पसेका देवी चौधरी र हरिध्वज मल्ल उम्मेदवार छन् । सिद्धार्थनगरका युवा नेता ओम श्रेष्ठलाई उम्मेदवार नबनाएर चौधरीलाई बनाएपछि काङ्ग्रेसको एउटा पंक्तिले श्रेष्ठलाई मैदानमा उतारेको छ । श्रेष्ठ मैदानमा उत्रेपछि चौधरीको चुनावी अभियान फिक्का बनेको छ । यी दुईको लडाइँ वाम गठबन्धनका लागि सहज भएको छ । जनयुद्धकालदेखि यही काम गरेका शालीन र स्वच्छ छवि बनाएका बराल मतदाताको घरघरमा पुगेर मन जित्ने प्रयास गर्दै छन् ।
प्रदेश २ बाट काङ्ग्रेसका पुराना नेता सोेमनाथ शर्मा उम्मेदवार बन्ने चाहनामा नेता खाँण बाधक बने । खाँणको अनिच्छा भएपछि मल्ल उम्मेदवार बने । पुरानो काङ्ग्रेस पंक्ति खाँणले हरेक ठाउँ हस्तक्षेप गरेको भन्दै रुष्ट भएको छ । काङ्ग्रेसको यही फ्याक्टरले प्रदेश सभासदका वाम उम्मेदवार पनि मैदानमा उत्साहित देखिन्छन् ।
-रातो पाटीबाट साभार
0 comments: