माल्दिभ्समा यस्ता सुन्दर रिसोर्ट बनाउने नेपाली इन्जिनियर
माल्दिभ्स– रोजगारीका लागि विदेश गएका नेपालीहरुले श्रम मात्र बेचेको खबर हामीले बढी सुन्ने गरेका छौं। कहिलेकाहीँ आफ्नो सिपको दक्षता देखाएर नेपालीहरुले विदेशमा देशको नाम उच्च राखेको समाचार फाट्टफुट्ट आउने गरेको छ।
यस्तै आफ्नो सिपले माल्दिभ्सलाई सिँगारेर देशलाई गौरवान्वित पार्ने नाम हो, कृष्णप्रसाद चालिसे। जो पेसाले सिभिल इन्जिनियर हुन्।
उनी ९ वर्षदेखि माल्दिभ्समा छन्। यहाँका बन्जर टापुलाई आफ्नो इन्जिनियरिङको कौशलले सिँगारेर उनले सुन्दर रिसोर्टमा ढालेका छन्। चारैतिर समुद्रले घेरेका यस्ता टापुमा रिसोर्ट मात्र होइन, पानीमुनि पनि रेस्टुराँ निर्माण गरेर उनले आफूलाई अब्बल साबित गरिसकेका छन्।
त्यसैले उनलाई माल्दिभ्सको चर्चित निर्माण कम्पनी एट्मोस्फेयर होटेल एन्ड ग्रुपले कतै उम्किनै दिँदैन। उनी आफ्नो कम्पनी छोडेर अन्यत्र जान्छन् भन्ने डरले उनलाई प्रोजेक्ट डाइरेक्टर जस्तो ठूलो जिम्मेवारी सुम्पिएको छ।
एट्मोस्फेयर माल्दिभ्सको यस्तो कम्पनी हो, जसले अरुका लागि रिसोर्टको भौतिक संरचना निमार्ण मात्र गर्दैन, आफैले पनि रिसोर्ट र रेस्टुराँ सञ्चालन गर्ने काम गर्छ। यी दुवै काममा चालिसे खटिने गरेका छन्। करिब ३ हजार कर्मचारीमाथि उनको प्रत्यक्ष–अप्रत्यक्ष निगरानी हुने गर्दछ।
उनी संलग्न भएर ८ वटा रिसोर्ट, होटेल र रेस्टुराँको संरचना निर्माण भइसकेको छ। जसमा उनले आफ्नो एकल नेतृत्वमा ३ वटा रिसोर्टको काम पूरा गरिसकेका छन्। एउटाको निर्माण कार्य अन्तिम अवस्थामा छ।
उनले निर्माण गरेको रिसोर्टमा अराइभल जेट्टी र जुमेराह धेभानाफुसी पर्छ। युनाइटेड अरब इमिरेट्स (युएई) का राजाको लगानी रहेको भनिएको जुमेराह होटलको विश्वभरि सयभन्दा बढी सञ्जाल भएको बताइन्छ।
यो होटलको संरचना आफैमा लोभलाग्दो छ। चालिसेको सिपले यहाँ मन्त्रमुग्ध नहुने सायदै कोही भेटिएलान्। (तस्बिरमा हेर्नुहोस्)
उनले बनाएको अर्काे सुन्दर संरचना हो, ओजन रिसोर्टको। ससाना जमिनका भूभाग जोडेर बनाइजस्तो यो कलात्मक रिसोर्ट उनको एकल नेतृत्वमा सम्पन्न भएको हो । (तस्बिरमा हेर्नुहोस्)
यी बाहेक ‘ओब्लु वाई एट्मोस्फेयर’ पनि उनको इन्जिनियरिङ क्षमताको उत्कृष्ट नमूना हो।
उनले समुद्रमाथि करिब आधा दर्जन भौतिक संरचना बनाएका छन् नै, समुद्रमुनि पनि रेस्टुराँ निर्माण गरेका छन्। यसमा पर्छ, ओजन रिसोर्ट अन्डरवाटर रेस्टुराँ। (तस्बिरमा हेर्नुहोस्)
काठमाडौंको पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ग्य्राजुएट गरेका उनले पोस्ट ग्य्राजुएट जर्मनीबाट गरेका हुन्। उनी नेपालमा हुँदा शर्मा एन्ड कम्पनीमा आबद्ध थिए। काठमाडौंमा चलचित्र विकास संस्थानको भवन, कमलादी कमर्सियल कम्प्लेक्स निर्माण हुँदा यो प्रोजेक्टमा उनी पनि संलग्न थिए।
उनले जगदम्बा सिमेन्टको प्रोजेक्ट म्यानेजर भएर पनि केही समय काम गरे।
जर्मनमा पढाइ सकेर देश फर्किएका चालिसे आफ्नै ठाउँमा केही गर्न चाहन्थे। तर, २०६३ सालपछि देशमा फैलिएको राजनीतिक अस्थिरताका कारण उनी नेपाल छोडेर विदेशिए।
भन्छन्, ‘कहिले तराई, कहिले कुन जाति, कहिले कुन दलले बन्द गरेर देश नै लथालिंग भयो। मैले चाहेको काम गर्ने वातावरण देखिनँ। त्यसैले विदेशिने निर्णय गरेँ,’ माल्दिभ्समा नेपाल लाइभसँग छोटो कुराकानी गर्दै उनले भने।
उनी सुरुमा माल्दिभ्स कामको खोजीमा आएका थिएनन्। साथीहरुले घुम्न मात्र बोलाएका थिए। तर, उनलाई यहाँको वातावरणले लोभ्यायो। फेरि आफ्नो सिपको सम्मान हुने देखेपछि बस्ने रहर पलायो।
‘सुरुमा मलाई यहाँ टिक्न गाह्रो पर्यो। जतात्यतै पानी। घरको सम्झनाले ४ महिनामै फर्किने मनस्थितिमा पुगिसकेको थिएँ,’ उनी सम्झिन्छन्।
तर, काम गर्न सुरु गरेपछि बिस्तारै यतै रमाउन थालेको उनी बताउँछन्। ‘मेरो काम उनीहरुले यति मन पराए। फर्किन्छ कि भन्ने डरले जे भन्यो पूरा गरिदिन्थे’, गुल्मीको मुसिकोटबाट माल्दिभ्स आएका चालिसे आफ्नो विगत सुनाउँछन्।
दक्षिण एसियामै भएको हुनाले आवश्यक परेको बेला घर फर्किन सजिलो पर्ने, राम्रो हावापानी, योग्यताको उचित कदर हुने हुनाले आफूलाई माल्दिभ्स मन परेको उनी बताउँछन्।
प्राविधिक जनशक्तिका लागि माल्दिभ्स निकै राम्रो भएको उनको बुझाइ छ। त्यसैले अवसरको खोजी गरिरहेका नेपाली इन्जिनियरका लागि माल्दिभ्स राम्रो गन्तव्य बन्न सक्ने उनी बताउँछन्।
सेवासुविधा राम्रो छ। ढुक्क भएर काम गर्ने वातावरण छ। छुट्टी पनि पाइन्छ,’ उनले भने, ‘एउटा पेसाकर्मीले अपेक्षा गरेका कुराहरु माल्दिभ्समा पूरा हुन्छन्।’
0 comments: