पोखरामा ८५ करोडको अन्तराष्ट्रिय फुटबल रंगशाला
काठमाडौँ, ८ कात्तिक । लामो समयको प्रतिक्षापछि पोखरामा अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन ग्लोबल टेन्डर आह्वान गरिएको छ । मंगलबारदेखि खुलेको टेन्डरमा संसारका जुनसुकै कम्पनीले पनि टेन्डर हाल्न पाउने पश्मिाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । टेन्डरका लागि २०७४ मंसिर २ गते सम्म फारम भर्ने समय तोकिएको छ ।
डिपिआर अनुसार फुटबल रंगशाला अन्तर्राष्ट्रिय स्तरको बन्ने छ । पौडेललका अनुसार फुटबल रंगशालाको डिजाइनको काम सम्पन्न भएकोले निर्माणको लागि टेन्डर आह्वान गरिएको हो ।
खेलकुद मन्त्रालयले क्षेत्रीय खेलकुद विकास समितिमार्फत बजेट व्यवस्था गरेको हो । फुटबल रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार ८५ करोड रुपैयाँ लाग्ने अनुमान गरेकामा मन्त्रालयले आर्थिक वर्ष २०७४ ÷०७५ का लागि १७ करोड उपलब्ध गराएको छ । ८५ करोडको बजेट अपुग भएमा आवश्यक बजेट थप्न सकिने पौडेलले बताए ।
प्राकृतिक घास रहने फुटबल मैदानमा रातको समयमा सबैखाले मौसममा फुटबल खेल्न मिल्ने गरी चार स्थानमा शक्तिशाली बत्ती, दुई स्थानमा डिजिटल स्कोर बोर्ड रहने छ । एनडी इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको डिपिआर अनुसार करिब ३० हजार दर्शक क्षमताको प्यारापिट पनि निर्माण गरिने छ । फुटबल मैदानको चारैतर्फ प्यारापिट रहने छ । पोखरा रंगशालामा हाल दुई स्थानमा मात्र प्यारापिट छ ।
नयाँ बन्ने फुटबल मैदानमा दर्शकसँगै भिआइपी, मिडिया, अपांग मैत्री, खेलाडी चेन्जिङ रुम, भिआइपी, रेफ्री, मेडिकल, मिडिया सेन्टर, दर्शकको लागि शौचालय, प्यारापिट लगायतका सुविधायुक्त पूर्वाधार निर्माण गरिने छ । प्राकृतिक घास रहने फुटबल मैदानमा रातको समयमा सबै मौसममा फुटबल खेल्न मिल्ने गरी चार स्थानमा शक्तिशाली बत्ती र दुई स्थानमा डिजिटल स्कोर बोर्ड राखिने छ । अब बन्ने प्यारापिट दुई लेभलको हुने र सबैतिरको प्यारापिटतर्फ घाम र पानीको लागि फाइभरको छाना हालिने छ ।
रंगशाला प्रवेशको लागि दर्शकहरुको लागि चार स्थानमा प्रवेश द्वार र खेलाडी तथा भिआइपीहरुको लागि छुट्टै द्वार रहने छ । फुटबल रंगशालाको ठिक बाहिर पार्किङको सुविधा रहने छ । बजेटबाट पोखरा रंगशालामा आवश्यक अन्य भौतिक पूर्वाधार निर्माणमा पनि खर्च गरिनेछ । १० महिनामा काम सम्पन्न गर्ने गरी टेन्डर आह्वान गरिएको छ ।
डिजाइन अनुसार पोखरा रामबजारस्थित हाल रहेको फुटबल रंगशालालाई भत्काएर त्यही स्थानमा नयाँ सुविधा सम्पन्न फुटबल रंगशाला निर्माण गर्न लागिएको हो । रंगशाला ४ सय रोपनी जग्गामा फैलने छ । अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदानसहित अन्तर्राष्ट्रिय स्तरको एथ्लेटिक्स ट्रयाक पनि रहने छ ।
सरकारले यो रंगशालालाई नेपालमा हुन् लागेको १३ औं साग खेलकुद लक्ष्य गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउन लागेको पौडेलले बताए । सोही अनुरुप फुटबल मैदानलाई स्तर उन्नति गर्न लागिएको हो ।
सन् २०१९ मा साग नेपालमा हुने तय भइसकेको छ । एसियन गेमअन्तर्गत पोखरामा भलिबल, आर्चरी, लङटेनिस टेनिबल, महिला फुटबल, हेन्डबल हुने जिल्ला खेलकुद विकास समिति कास्कीले जनाएको छ । सुरेशराज अधिकारीकाे रिपाेर्ट
0 comments: