
रुपन्देहीमा विश्वकै ठूलो रंगोली बनाइने
३१ असोज, भैरहवा । तिहारको अवसरमा रुपन्देहीमा विश्वकै सबैभन्दा लामो रंगोली बनाइने भएको छ ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था बागेश्वरी असल शासन (बास) रुपन्देही र हाटी-अमुवा युवा क्लबको आयोजनामा काग तिहारका दिन अहिलेसम्मकै लामो रंगोली बनाउन लागिएको हो ।
आयोजकले भैरहवामा पत्रकार सम्मेलन आयोजना गरी कला सँस्कृति तथा पहिचानको जर्गेर्ना, पर्यटकलाई आकर्षित गर्न र गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने गरी विश्वकै ठूलो रंगोली बनाउन लागिएको कार्यक्रम संयोजक एवं बास रुपन्देहीका उपाध्यक्ष विरेन्द्र गुप्ताले जानकारी दिए ।
विश्वमा अहिलेसम्म ठूला आकारका दुई वटा रंगोली बनाइएको छ । भारतमा १ दशमलव ३ किलोमिटर र बंगलादेशमा १ दशमलव ४ किलोमिटरको रंगोली बनाइएको छ । अब नेपालको भैरहवामा भने १ दशमलव ५ किलोमिटरको रंगोली बनाउन लागिएको छ । यदि आयोजकले भने अनुसार रंगोली बनेमा यो विश्वकै सबैभन्दा ठूलो रंगोली हुनेछ ।
आयोजका अनुसार उक्त रंगोली भैरहवा क्षेत्रको लखन चोकदेखि हाटी अमवासम्मको सडकमा बनाइनेछ । उक्त रंगोली बनाउन सेतो, पहेंलो, रातो, निलो र हरियो गरी ५ प्रकारका रंग प्रयोग गरिने बास रुपन्देहीकी अध्यक्ष विजया खत्रीले बताइन् ।
३ सय जना कलाकार रंगोली बनाउन सहभागी हुने र साढे ५ लाख रुपैयाँ खर्च लाग्ने उनको भनाइ छ ।
रंगोलीलाई धार्मिक एवं साँस्कृतिक आस्थाको प्रतिक मानिन्छ । यो पूजापाठको एउटा महत्वपूर्ण अंग पनि हो । त्यसैले कुनै पनि धार्मिक कर्म गर्नुपूर्व रंगोली बनाइन्छ । गाउँघरमा आँगन लिपेर त्यसमा पिठो, अबिर, बेसार आदि प्रयोग गरी रंगोली बनाउने प्रचलन छ ।
नेपाली सँस्कृतिमा आँगनलाई लिपेर सुन्दर बनाउने चलन लामो समयदेखि चल्दै आएको छ । खासगरी ठूला आकारका रंगोली तिहारको अवसरमा बनाइने गरिन्छ ।
0 comments: