सरकारले टेलिकमलाई सोध्यो-धरहरा बनाउने कि नबनाउने ?

SHARE

सरकारले टेलिकमलाई सोध्यो-धरहरा बनाउने कि नबनाउने ?

२३ भदौ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल टेलिकमलाई पाँच दिनभित्र धरहरा पुनर्निर्माणसम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी प्राधिकरणसमक्ष पेश गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले भदौ १२ गते टेलिकमलाई धरहरा पुनर्निर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव पेश गर्न पत्राचार गरेको थियो । उक्त पत्रको जवाफ नआएपछि प्राधिकरणले शुक्रवार पुनः टेलिकमलाई पत्राचार गरी आफ्नो आधिकारिक धारणा पेश गर्न निर्देशन दिएको हो ।

सोहीअनुसार प्राधिकरणले भदौ १२ गते टेलिकमलाई हालसम्मको प्रगतिसहित प्रस्ताव पेश गर्न आग्रह गरेको थियो ।

पुरातत्व विभागलाई बोधार्थ पठाइएको शुक्रबारको पत्रमा प्राधिकरणले पत्र प्राप्त भएको मितिले पाँच दिनभित्र प्राधिकरणमा आइपुग्ने गरी जवाफ पठाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

नेपालको सबैभन्दा ठूलो दूरसंचार प्रदायक नेपाल टेलिकमले भूकम्प गएलगत्तै धरहरा पुनर्निर्माणमा चासो देखाए पनि त्यो अगाडि बढ्न सकेको छैन ।

काष्ठमण्डपबारे महानगरलाई सोधियो

यसैबीच प्राधिकरणले शुक्रवारै काष्ठमण्डप संरक्षण र पुनर्निर्माण सम्बन्धमा भएको प्रगतीवारे जानकारी दिन महानगरापलिकालाई आग्रह गरेको छ ।

**यो पनि पढ्नुहोस** : इर्मा आँधीका कारण १४ को मृत्यु, आइतबार अमेरिकाको फ्लोरिडा पुग्ने अनुमान

प्राधिकरणको गत साउन १८ गते बसेको बैठकबाट भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणका सन्दर्भमा काठमाण्डौ महानगरपालिकाले स्थानीय तथा सरोकारवाला सवै पक्षलाई समेटेर स्थानीय समुदायलाई सहभागी गराई पुनर्निर्माणको नेतृत्व लिने भनि निर्णय भएको थियो ।

उक्त निर्णय बमोजिम सोको कार्यान्वयनका लागि गत भदौ १२ गते लेखी पठाइएको पत्रको सन्दर्भमा काष्ठमण्डपको संरक्षण र पुनर्निर्माण सम्बन्धमा महानगरपालिकाबाट हालसम्म भएको कार्यहरुका साथै सोको अध्यावधिक प्रगति ५ दिनभित्रमा प्राधिकरणमा आइपुग्ने गरी पठाउन भनिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले बताए ।

(अनलाइन खबरबाट)

SHARE

Author: verified_user

0 comments: