दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

SHARE

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको मूल्य बढाएका हुन् ।

व्यापारीले केही दिनयता विभिन्न ६ प्रकारका चामल र मुसुराको दालको मूल्य बढाएका हुन् ।

नेपाल खुद्रा व्यापार संघका अनुसार अहिले चामलको मूल्य प्रतिबोरा एक सय रुपैयाँले वृद्धि गरिएको छ । त्यस्तै, मुसुराको दालको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाइएको छ ।

दुई थरी लङग्रेन चामलको मूल्य प्रतिबोरा मूल्य दुई हजार ३ सय रुपैयाँ र दुई हजार ४ सय रुपैयाँ पुगेको छ । त्यस्तै, पोखरेली चामलको मूल्य प्रतिबोरा २ हजार रुपैयाँ, जिरा मसिनो चामलको मूल्य एक हजार ६ सय ५० रुपैयाँ पुगेको छ । सोना स्टिम चामलको प्रतिबोरा मूल्य १ हजार ५ सय ७५ र जनरल सोनाको प्रतिबोरा मूल्य एक हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।

**यो पनि पढ्नुहोस** : दिनमा तीन कपभन्दा बढि चिया पिउनुहुन्छ भने यो खबर तपाईंकै लागि

एक महिनाअघि यी सबै चामलको मूल्य एक सय रुपैयाँ कम रहेको संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले बताए ।

त्यस्तै, मुसुराको दालको मूल्य पनि १० रुपैयाँले बढाइएको छ । संघका अनुसार केही दिनअघिसम्म ९० रुपैयाँ रहेको ठूलो दाना भएको मुसुराको दालको प्रतिकिलो मूल्य एक सय र यसअघि एक सय १० रुपैयाँ प्रतिकिलो मूल्य पर्ने सानो दाना भएको मुसुराको दालको मूल्य एक सय २० रुपैयाँ पुर्‍याइएको छ ।

‘थोक विक्रेताबाटै मूल्य बढेर आएकाले हामीले पनि बढाउन बाध्य भएका हौं,’ संघका उपाध्यक्ष मानन्धरले भने ।

केही समयअघि तराई क्षेत्रमा गएको बाढीका कारण निम्तिएको डुबानले पुर्‍याएको क्षतिलाई बहाना बनाएर व्यापारीहरूले मूल्य बढाएका हुन् । भारतमै मूल्य बढेकाले पनि त्यहीँबाट आयात हुने चामलको मूल्य बढ्नु स्वभावीक भएको संघको तर्क छ । ‘तराईको बाढी र भारतमै पनि चामलको मूल्य बढेका कारण बढाइएको हो,’ मानन्धरले भने ।

चामलको मूल्य अझै बढ्ने संघले बताएको छ । यसपटक डुबानका कारण तराईमा धानको उत्पादन घट्ने र त्यसले मूल्य बढाउने मानन्धरले बताए ।

तीन महिनाअघिमात्र चामलको मूल्य घटाएका व्यापारीले पुनः मूल्य बढाएका हुन् ।

**यो पनि पढ्नुहोस** : सावधान यी पाँच चीजले तपाईँको ज्यानै लिन सक्छन् ! सबैले एकचोटी पढ्नै पर्ने

आपूर्ति सहज गर्ने र बजार अनुगमन गर्ने निकाय उपभोक्ता अधिकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले भने मूल्य बढेको आधिकारीक जानकारी आफूलाई नभएको बताएको छ । वस्तुको उपलब्धता र बजारको मागबमोजिम आपूर्ति र त्यसको मूल्य निर्भर हुने तर्क गर्दै विभागका निर्देशक लक्ष्मण श्रेष्ठले भने, ‘वस्तुको मूल्य बढ्नु वा घट्नु स्वभाविक हो, तर व्यापारीले त्यसको पुष्ट्याइँ गर्नुपर्छ,’

उपभोक्ता अधिकारकर्मीहरूले चाडवाडको समयमा उपभोग्य वस्तुको मूल्य बढाउँदा उपभोक्तालाई मार पर्ने बताउँछन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अहिले मूल्य वृद्धि गर्नुपर्ने कारण नभएको भन्दै व्यापारीले नाफाका लागि उपभोक्ताको ढाड सेक्ने काम गरेको बताए । ‘चाडवाडमा उपभोक्तालाई उपभोग्य वस्तुमा सहुलियत दिनुको साटो मूल्य बढाइएको छ,’ उनले भने, ‘मूल्यवृद्धि फिर्ता हुनुपर्छ ।’

**यो पनि पढ्नुहोस** : २२ वर्षदेखि भगवान बनाएँ, तर भगवानले मलाई कहिल्यै बनाएनन् !पढ्नुस दुखद कहानी

SHARE

Author: verified_user

0 comments: