सुनको भाउ १ हजार ४ सय डलर पुग्ने अनुमान

SHARE

सुनको भाउ १ हजार ४ सय डलर पुग्ने अनुमान

न्यूयोर्क (अमेरिका) । बहुमूल्य धातु सुनको भाउ छिट्टै १ हजार ४ सय डलरमा पुग्ने अनुमान गरिएको छ । पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीच वाग्युद्ध छेडिएको छ र भूराजनीतिक तनाव पनि बढेको छ ।

यसले सुनको भाउलाई टेवा दिँदा वर्षको अन्त्यसम्ममा भाउ बढेर प्रतिऔंस १ हजार ४ सय डलरमा पुग्ने रुसी लगानी बैङ्कका बहुमूल्य धातु एकाइका प्रमुखले बताएका हुन् । विश्वको भूराजनीतिक खतरा तथा चीन र भारतको सुन खरीदले आउँदो ३ महीनामै सुनको भाउ बढेर १ हजार ३ सय ६० डलर पुग्ने भीटीबी क्यापिटल जेएससीका इभगेनी अनानेइभले बताए । त्यसपछि पनि सुनको भाउ बढ्ने उनको दाबी छ ।

‘सुनको भाउमा केही करेक्शन देखिएला, तर यो प्रतिऔंस १ हजार २ सय डलरभन्दा तल आउँछ भन्ने मलाई लाग्दैन,’ एक अन्तर्वार्तामा उनले भने । सोमवारको कारोबारमा करीब १ हजार ३ सय डलरनजिक पुगेको सुनको भाउ मङ्गलवार घटेर १ हजार २ सय ७२ डलरसम्म आएको थियो । उक्त दिन सुनको भाउ अधिकतम १ हजार २ सय ८५ डलरसम्म पुगेको थियो ।

यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार साँझ ६ बजे न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ शून्य दशमलव ८३ प्रतिशतले घटी १ हजार २ सय ७३ डलर ५५ सेण्ट कायम भएको थियो । सन् २०१७ शुरू भएयता मात्रै सुनको भाउ १२ प्रतिशतले बढेको छ ।

अमेरिका र उत्तर कोरियाबीच आणविक द्वन्द्व हुने चिन्ता तथा अमेरिकाको न्यून मुद्रास्फीतिले ब्याजदर वृद्धिको सम्भावना प्रबल बन्दा सुनको भाउ बढेको हो । उता, हेज फण्ड अर्बपति रे ड्यालियोले भने लगानीकर्ताहरूलाई आनो सम्पत्तिको ५ देखि १० प्रतिशतसम्म सुनमा लगानी गर्न सुझाव दिएका छन् ।

सैद्धान्तिक रूपमा अहिले सुन बजार निकै बुलिश छ । उत्तर कोरियाले यसलाई १ हजार ३ सय डलर स्तर पार गर्ने र सोही स्तरमा टिकिरहने अवसर दिएको लण्डनस्थित मेटल फोकस लिमिटेडका विश्लेषक चिराग शेठ भन्छन् । उत्तर कोरियाली तनावका कारण लगानीकर्ताहरूले सेफ हेभन एसेटमा लगानी गर्न थालेकाले आउँदो ६ देखि ९ महीनामै सुनको भाउ १ हजार ४ सय डलर पुग्ने शेठको भनाइ छ ।

अमेरिकामा मुद्रास्फीति अपेक्षा गरिएभन्दा सुस्त गतिले बढेपछि ब्याजदर वृद्धिको निर्णय गर्न फेडलाई गाह्रो हुने अनुमानले पनि सुनको भाउले टेवा पाइरहेको छ । यस वर्ष भारतको सुन आयात वार्षिक ३० प्रतिशत बढी ८ सय मेट्रिक टनसम्म पुग्ने अनुमान गरिएको छ । उता, यस वर्षको पहिलो ६ महीनामा चीनको सुन आयात वार्षिक करीब १० प्रतिशतले बढेर ५ सय ४५ दशलमव २ मेट्रिक टन पुगेको छ । शेठका अनुसार यी दुई देशबाट हुने मागले पनि सुनलाई निकै टेवा दिनेछ । एजेन्सी

SHARE

Author: verified_user