
आजबाट मुलुकभरका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लागू
काठमाडौं– मुलुकभरका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रणाली सुरु गरिएको छ । सोमबार मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा विशेष कार्यक्रमका माझ भौतिक योजना तथा यातायात मन्त्री वीर बहादुर बलायरले यसको औपचारिक उद्घाटन गरेका छन् । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार नेपामा पहिलो पटक इम्बोस्ड नम्बर प्रणाली लागु गरिएको हो । विभागले सुरुमा यातायात व्यवस्था विभागका सवारीसाधन र क्रमैसंग कूटनीतिक नियोग, निजी र सार्वजनिक सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्ने बताएको छ ।
पहिलो चरणमा सरकारी र कूटनीतिक नियोगका दुईपाङग्रे र चारपाङग्रे गरी ४० हजार सवारीमा यो प्रणाली लागु गरिनेछ । इम्बोस्ड नम्बरप्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन सर्किट’ राखिने भएकाले कुनै पनि नम्बरको सवारीसाधन कहाँ र कस्तो अवस्थामा छ भन्ने सजिलै पत्ता लगाउन सकिने भएकाले यो लागु भएपछि सवारीसाधन चोरी नियन्त्रण हुनुकासाथै कर छल्ने प्रवृत्तिको नियन्त्रण भई सवारी दुर्घटनामा पनि कमि आउने विश्वास लिएको यातायात व्यवस्था विभागले लिएको महानिर्देशक रुपनारायण भट्टराइले बताए । सवारीसाधनलाई व्यवस्थित गर्न विकसित मुलुकहरुमा प्रयोगमा आइसकेको अत्याधुनिक प्रविधिको नम्बरप्लेट नै इम्बोस्ड नम्बरप्लेट हो ।
फलामको पातामा अंक र अक्षर राखिएको यो नम्बरप्लेट हाल सवारीसाधनमा प्रचलित नम्बर प्लेटभन्दा फरक र अक्षरहरु उचाइमा रहेका कारण यस्तो नम्बरप्लेटलाई इम्बोस्ड नम्बरप्लेट भनिएको हो । यो प्रणाली लागु भएसंगै यसअघि नौ प्रकारका सवारीसाधन सरकारी, निजी, कूटनीतिक नियोग र सार्वजनिक गरी चार किसिममा सीमित भएका छन् । एकपटक लगाइएको इम्बोस्ड नम्बर १० वर्षसम्म रहन्छ ।
५ बर्ष भित्रमा मुलुकभरका २५ लाख सवारी साधनमा यो प्रणाली प्रयोग गरिसक्ने लक्ष विभागको छ । कार्यक्रममा भौतिक योजना तथा यातायात मन्त्री वीर बहादुर बलायरले यातायात क्षेत्रमा इम्बोस्ट नम्बर प्लेट प्राणाली लागु हुनु अत्यन्तै राम्रो भएको भन्दै सुरक्षित यात्रा, जीवन रक्षा र अपराध नियन्त्रणका लागि प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
विभागले काठमाण्डौ छिर्नै थानकोट, र्फपिङ, जगाती, जोरपाटी र नागार्जुनमा चेक प्वाईन्ट राखेर इम्बोस्ट नम्बर लगाए नलगाएको चेक गर्ने व्यवस्था पनि मिलाएको छ । त्यसैगरी उपत्यका बाहिरका विभिन्न शहरमा पनि आवश्यक व्यवस्था मिलाईएको विभागले जनाएको छ । सवारीधनी वा संस्थाले आवेदन दिएको एक हप्ताभित्र इम्बोस्ड नम्बरप्लेट प्रदान गर्ने व्यवस्था पनि विभागले मिलाएको छ ।