रुपन्देहीमा ९ जनाको उम्मेदवारी फिर्ता
१९ कात्तिक, भैरहवा । दोस्रो चरणमा अगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि जिल्लामा मनोनयन पत्र दर्ता गराएका २ सय ५२ जना मध्ये ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रतिनिधिसभा सदस्य तर्फ २ जना र प्रदेशसभा सदस्य तर्फ ७ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिए । जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको लागि मनोनयत्र पत्र दर्ता गराएका नयाँ शक्ति पार्टी नेपालका नजिर अलि मुसलमान र स्वतन्त्र उम्मेदवार बैजनाथ सहानीले उम्मेदवारी फिर्ता लिएका छन ।
त्यस्तै प्रदेशसभा तर्फ क्षेत्र नं. १ (१) बाट एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का उम्मेदवार राम नरेश कहाँर, क्षेत्र नं. ३ (२) बाट भवानी प्रसाद सापकोटा, क्षेत्र नं. ४(१) बाट नजिर अहमद मुसलमान र विनोद कुमार श्रीवास्तवले , क्षेत्र नं. ४(२) बाट स्वतन्त्र उम्मेदवार अतिकुर रहमान खाँ र बहुजन शक्ति पार्टीका शिवदास यादवले फिर्ता लिएका छन् ।
यस्तै क्षेत्र नं. ५ (२) बाट स्वतन्त्र उम्मेदवार अल्ताफ खान र कोदइ प्रसाद अहिरले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ५ प्रतिनिधिसभा र १० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ५ लाख २२ हजार ६ सय २ जना मतदाता रहेका छन् ।
जसमा २ लाख ५८ हजार ७ सय ८३ जना पुरुष, २ लाख ६३ हजार ८ सय १३ जना महिला र ८३ जना तेस्रोलिङी रहेका छन् । त्यस्तै जिल्लामा २ सय ८ मतदान स्थलमा ५ सय ९८ मतदान केन्द्र कायम गरिएको छ ।
0 comments: