
चिनियाँ राष्ट्रपति भन्छन - नेपाललाई साथै लिएर अघि बढ्न चाहन्छौं
चिनियाँ राष्ट्रपति सि चिनफिङले नेपाललाई साथै लिएर अघि बढ्न चाहेको सन्देश दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासंगको भेटवार्ताका क्रममा उनका विशेष दूत तथा चिनियाँ उपप्रधानमन्त्री वाङ याङले राष्ट्रपतिको सन्देश सुनाएका हुन् ।
तीन दिने भ्रमणका लागि राजधानीमा रहेका उपप्रधानमन्त्री वाङ याङले बुधबार दिउँसो प्रधानमन्त्री देउवासंग भेटवार्ता गरेका थिए । राजनीतिक दलका शीर्ष नेताहरुसँग श्रृखलाबद्ध भेटको भोलिपल्ट प्रधामन्त्री देउवासँगको भेटवार्तामा उनले भने, ‘म चिनियाँ राष्ट्रपतिको सन्देशसमेत लिएर आएको छु । चीन सधैं यहाँको राजनीतिक स्थायित्व र विकासको पक्षमा उभिएको छ । हामी नेपाल जस्ता छिमेकी मुलुकलाई साथमा लिएर अघि बढ्न चाहन्छौं । सहयोग र सहकार्यको दायरा फराकिलो पार्दै जान आवश्यक छ ।’
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईका अनुसार चिनियाँ राष्ट्रपतिले नेपालसँगको सम्बन्धनलाई निकै महत्व दिएको जानकारी उपप्रधानमन्त्री वाङले दिए । ‘राष्ट्रपतिले छिट्टै नेपाल भ्रमण समेत गर्नुहुनेछ । त्यसको अनुकुलता हेरिरहनु भएको छ,’ वाङलाई उद्धृत गर्दै भट्टराईले भने ।
उनले प्रधानमन्त्री देउवालाई राष्ट्रपति सि र प्रधानमन्त्री लि खछ्याङको तर्फबाट चीन भ्रमणको निमन्त्रणासमेत दिए । साथै भ्रमणको समय जतिसक्दो चाँडो मिलाइने समेत बताए ।
भेटवार्तामा चिनियाँ पक्षबाट आएका सबै जसो वरिष्ठ सदस्य र नेपालतर्फबाट पनि प्रधानमन्त्रीका सल्लाहकार समुह, उच्च अधिकारी, परराष्ट्र अधिकारीहरुको उपस्थिति थियो । उक्त छलफलमा नेपालको पछिल्लो राजनीतिक अवस्था, आगामी निर्वाचनलगायतका विषयमा छलफल भएको थियो । यसअघि चीनसंग भएको सम्झौता कार्यावन्यनको विषयमा पनि छलफल भएको थियो । छलफलमा चिनियाँ पक्षले कनेक्टीभिटीमा जोड दिएको थियो । उनीहरुले सडक र रेल सञ्जालमार्फत नै जोडिएर सहज व्यापार र आर्थिक गतिविधिमा बढवा दिन चाहेको बताएका थिए ।
बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) मार्फत हुने सहयोगबारेमा पनि छलफल भएको थियो । उनले नेपालले लिएको कूटनीतिक मान्यताको प्रशंसा समेत गरे । एक चीन नीतिमा नेपालको अडान चीनको लागि महत्वपूर्ण रहेको भन्दै कूटनीतिक क्षमताको प्रशंसा गरेका हुन् ।
प्रधानमन्त्रीसँग उनले एक्ला एक्लै भेट भने गरेनन् । उनले मंगलबार प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीसँग एक्लाएक्लै समेत भेट गरेका थिए । साधारणतया भारतीय अधिकारीहरुसँग एक्लाएक्लै भेट हुने परम्परा थियो । वाङले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग पनि भेटवार्ता गरेका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसंग पनि भेट गरेका छन् । उनले उक्त भेटमा पनि चीन भ्रमणको निमन्त्रणा र दुई पक्षीय सहकार्यको विषयमा छलफल गरेका छन् । उनी विहीबार विहान फर्कने छन् ।
व्यापारीसँग अन्तर्क्रिया
यसअघि चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपाली ब्यापारी मण्डलसँग अन्तरक्रिया गर्दै निजी क्षेत्रको सहकार्यमा चीनले विशेष जोड दिइरहेको जानकारी दिए । वाङले नेपालको निजी क्षेत्रसंग छलफल गर्न पाएकोमा खुशी ब्यक्त गर्दै भने, ‘नेपाल र चीनको आर्थिक सहकार्य निकै सवल ढंगले अघि बढिरहेको छ । यसमा हामी निरन्तरता र बढवा चाहन्छौं ।’
एशियन पूर्वाधार विकास बैंकको संस्थापक सदस्य तथा मित्र राष्ट्र चीन सरकारले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ्सको महत्वपूर्ण हस्ताक्षरकर्ताको नाताले नेपालले चीन र त्यो मार्ग अन्तर्गत जोडिएको मुलुकमा लगानी र त्यहाँबाट नेपालमा लगानीको अवसरको खोजि गरिरहेको अवस्थामा उनले त्यस्तो धारणा ब्यक्त गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघले नेतृत्व गरेको टोलीसँग अन्तरक्रिया भएको हो । नेपालबाट निर्यात हुने वस्तु तथा सेवामा भन्सार छुट दिनको लागि नेपाली व्यापारी तथा उद्यमीहरुले चिनियाँ पक्षलाई आग्रह गरेको थियो । चीनले नेपालसँग दुई पक्षीय सहकार्य गरेर अघि बढ्न चाहेको भन्दै लगानीको दायरा बढाउँदै अघि बढ्ने जानकारी दिएका थिए ।
महासंघकी अध्यक्ष भवानी राणाले टोलीको नेतृत्व गर्दै अन्तरक्रियामा चीनको निजी क्षेत्रको सहयोग र सहकार्य आफुहरुलाई आवश्यक रहेको धारणा ब्यक्त गरेकी थिइन् । क्षमता अभिवृद्धि, उत्पादन, लगानी प्रवर्द्धनमा चिनियाँ सहयोगको अपेक्षा नेपालले गरिरहेको भन्दै चिनियाँ साथ खोजिएको भेटवार्तामा सहभागि महासंघ उपाध्याक्ष चन्द्र ढकालले कान्तिपुरलाई बताए । चीनसँगको चुलिंदो व्यापार घाटालाई न्यूनीकरण गर्न नेपाली उत्पादनहरूको चिनियाँ बजार खोजिरहेका अवस्थामा नेपालीले ‘ड्युटि फ्रि’ मा जोड दिएको हो, उनले स्पष्ट पारे ।
आयुर्वेद केन्द्रमा पुगे वाङ
उपप्रधानमन्त्री वाङ याङले नेपालमा आयुर्वेदको विकास र विस्तारका लागि चीन सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अवलोकन गर्ने क्रममा उनले त्यस्तो धारणा ब्यक्त गरेका हुन् । उपप्रधानमन्त्री याङले आयुर्वेदको अनुसन्धानका लागि सहकार्य गर्ने समेत बताए । केन्द्रबाट हाल उपलब्ध सेवा सुविधा शल्या चिकित्सा, स्त्री, प्रसूति सेवा अर्बुद्ध रोग उपचार, अकुपञ्चर, रेडियोलोजी, प्याथोलोजीलगायतको अवलोकन र जानकारी लिएका थिए । उनलाई त्यहाँ स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले स्वागत गरेका थिए ।
अन्तरंग सेवाअन्तर्गत आगामी दिनमा सेवा उपलब्ध गर्न लागिएको विषयमा पनि उनलाई जानकारी दिइएको थियो । वाङले नेपाल संघीयतामा गएकाले त्यसको लागि सबै प्रदेशमा आयुर्वेद अस्पताल निर्माणमा समेत सहयोग गर्ने बताए । नेपाली पक्षको आग्रहलाई उनले सकारात्मक रुपमा लिंदै भने, ‘यो क्षेत्रमा सहयोग गर्न चीन तयार छ ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. सिद्धार्थकुमार ठाकुरले आयुर्वेदको क्षेत्रमा अनुसन्धान गर्नु केन्द्रको एक महत्वपूर्ण उद्देश्य रहेको बताए । चीनको ६८ करोड अनुदान सहयोगमा निर्मित यो केन्द्र सन २०११ मा सरकारलाई हस्तान्तरण भएको हो ।