सुरक्षित पोखरा अभियान : ५ करोड लागतमा सीसी क्यामरा जडान गरिने

SHARE

सुरक्षित पोखरा अभियान : ५ करोड लागतमा सीसी क्यामरा जडान गरिने

पोखरा । प्रदेश नं. ४ को राजधानी तथा नेपालको पर्यटनको केन्द्र पोखरालाई सुरक्षित बनाउन यहाँका विभिन्न सङ्घसंस्था तथा निजीक्षेत्रले चासो दिएका छन् । पोखरा लेखनाथ महानगरपालिका, पोखरा उद्योग वाणिज्य सङ्घ, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त सक्रियतामा अभियान शुरू भएको हो । सुरक्षित पोखरा अभियानका क्रममा पोखरामा चारैतिर सीसी क्यामरा जडान गर्न लागिएको छ । यो अभियानमा पोखराका सरोकारवाला निजीक्षेत्रले पूर्णसाथ दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

पोखरा क्षेत्रमा करीब ५ सय सीसी क्यामरा जडान गर्ने लक्ष्य छ । सीसी क्यामराका लागि ३ करोड रुपैयाँ खर्च लाग्ने सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए । नियन्त्रण कक्षका लागि टेलिभिजन, डिभाइस, अप्टिकल फाइबर, ब्याट्री, डाटा ब्याक, जडान शुल्कलगायत गरी करीब ५ करोड १७ लाख रुपैयाँको लागतमा सीसी क्यामरा जडान गर्न लागिएको हो ।

सार्वजनिक निजी साझेदारीअनुरूप जनसहभागितामा अभियान अगाडि बढाइएको हो । सुरक्षित पोखरा सबैको दायित्व भएकाले यहाँका उद्योगी, व्यवसायी, यातायातसँग सम्बन्धित सङ्घ संस्था, स्कूल, कलेज, स्वास्थ्य प्रतिष्ठान तथा टोल सुधार समितिले खर्च बहन गर्ने अध्यक्ष पालिखेले जानकारी दिए ।

‘आधुनिक प्रविधिको उपयोगविना सुरक्षाको परिकल्पना गर्न सकिँदैन,’ अध्यक्ष पालिखेले भने, ‘सुरक्षित पोखराका लागि सीसी क्यामरा जडान विकसित पोखराको अपरिहार्य आवश्यकता हो ।’ सार्वजनिक निजी साझेदारीलाई व्यवहारमा लागू गर्दै सुरक्षित शहर बनाउने अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गरिएको छ ।

यसैक्रममा सीसी क्यामरा जडान अभियान सफल पार्न पोखराका यातायात व्यवसायी, बैङ्कर, सुनचाँदी व्यवसायी र पर्यटन व्यवसायीसँग छुट्टाछुट्टै छलफल भएको छ । छलफलमा सहभागी सबैले यो अभियान सफल पार्न आआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्गलवार पोखरामा बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिसँग गरिएको छलफलमा ओम डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले सीसी क्यामरा जडान अभियानमा वित्तीय संस्थाले सघाउने बताए । ‘पोखरामा रहेका १ सय ७५ ओटा बैङ्क तथा वित्तीय संस्था एवम् सहकारी सहयोगका लागि तयार छन्,’ उनले भने, ‘सीसी क्यामरा जडानसँगै यसको दिगो व्यवस्थापनमा पनि जोड दिनुपर्छ ।’

SHARE

Author: verified_user

0 comments: