भैरहवाका उद्योगीले भारतीय दूतावासलाई भने- नाका सहज गराइदिनुस्, बर्बाद भइसक्यौं

SHARE

भैरहवाका उद्योगीले भारतीय दूतावासलाई भने- नाका सहज गराइदिनुस्, बर्बाद भइसक्यौं

१४ कात्तिक, भैरहवा । भैरहवाका उद्योगी व्यवसायीले सुनौली नाका सहज गराइदिनका भारतीय दूतावाससँग आग्रह गरेका छन् ।

मधेस आन्दोलन पछि असहज बनेको सुनौली नाका हालसम्म पनि सहज नभएका कारण आयतमा समस्या भएकोले नाकालाई सहज बनाउन व्यवसायीहरुले भारतीय दूतावाससँग आग्रह गरेका हुन् ।

मंगलबार भैरहवाको सिद्धार्थ उद्योग वाणिज्य संघमा नाकाको असहजताबारे छलफल कार्यक्रममा भारतीय दुतावासकी वाणिज्य तर्फको प्रथम सचिव मैथिली झाँसँग उद्योगी व्यवसायीहरुले नेपाल र भारतको मित्रता सदियौं पुरानो रहेका कारण नाकाको विषय लिएर दुवै मुलुकको मित्रतामा चिसोपना नआउन दिन आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले विगतमा सुनौली नाकाबाट एक हजारभन्दा बढी मालवाहक गाडी आउने गरेकोमा अहिले ३ सय गाडी मात्र आइरहेका कारण आफूहरु धरायसी अवस्थामा पुगेको बताए ।

उनले मधेस आन्दोलनबाट समस्या उत्पन्न भएको बताउँदै दुतावासबाट दैनिक निगरानी गर्ने व्यवस्था भएमा सुनौली भन्सारका कर्मचारी, प्रहरी जवाफदेही हुने र समस्याको समाधान हुन सक्ने बताए ।

उनले भने ‘हामीले उद्योगको लागि साउथ अफ्रिकाबाट कोइला मगाउँछौं । साउथ अफ्रिकाबाट सुनौलीसम्म ल्याउन लाग्ने खर्चभन्दा त्यहाँबाट भैरहवासम्म ल्याउने खर्च बढी भयो ।’

यस्तै उद्योगी अरुण गोयनकाले सुनौली नाकामा पाइला पाइलामा भन्सार र प्रहरीले ट्याक्स भन्दै अवैध असुली गर्दा आफूहरु मारमा परेको दुखेसो गरे ।

त्यस्तै कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष डा. शान्तकुमार शर्माले उद्योगीहरुले मधेस आन्दोलनमा भोगेको समस्या आन्दोलन सकिएपछि पनि उस्तै रहेको बताए ।

उनले सोनौली नाकामा ट्राफिकको समस्या, एकृकित भन्सार चेकपोष्ट निर्माणमा भारतले चासो नदेखाउनु, क्वारेन्टाइन चेकपोष्ट नहुनु, प्रहरीको अवैध रकम असुली लगायतको कारण समस्या भएको र यसको समाधन गर्नका लागि आग्रह गरे ।

सुनौली नाकामा रहेको मालवाहक गाडीहरुलाई भारतीय प्रशसानले सहज रुपमा नछोड्दा नाकामा समस्या उत्पन्न भएको उद्योगी व्यवसयीहरुको आरोप छ ।

कार्यवाहक अध्यक्ष शर्माले प्रश्न गरे, ‘यदि नाका कुनै गाडी १५/२० दिनसम्म अनावश्यक रुपमा रोकिन्छ भने हामीले कसरी व्यापार गर्ने ?’

भारतीय दूतावासकी वाणिज्य तर्फको प्रथम सचिव झाले समस्या समाधानका लागि आफूले विशेष पहल गर्ने आश्वासन दिइन् ।

Source: OnlineKhabar

SHARE

Author: verified_user

0 comments: