घटे लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटक

SHARE

घटे लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटक

काठमाडौं (अस) । बुद्ध जन्मस्थल लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा कमी आएको छ । लुम्बिनी विकास कोषका अनुसार सन् २०१६ सेप्टेम्बर महीनासम्मको तुलनामा सन् २०१७ सोही अवधिसम्म पर्यटक आगमन करीब २० प्रतिशतले घटेको छ । २०१६ को सेप्टेम्बरमा १० हजार ९ सय ४१ जना विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा २०१७ को सोही अवधिमा सो सङ्ख्या ८ हजार ७ सय १ मात्र रहेको कोषले जानकारी दिएको छ ।

आन्तरिक र भारतीय पर्यटक आगमन वृद्धि

तेस्रो मुलुकका पर्यटक आगमन घटे पनि आन्तरिक र छिमेकी मुलुक भारतबाट आउने पर्यटकको सङ्ख्या भने बढेको छ । सन् २०१७ को सेप्टेम्बरमा २८ हजार ३ सय ४९ जना आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । सोही अवधिमा ६ हजार ६ सय भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेको कोषको तथ्याङ्क छ । गतवर्षको सेप्टेम्बरमा ५ हजार ३ सय ३६ जनामात्र भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेको कोषले जानकारी दिएको छ । स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट आउनेमध्ये केही पर्यटक लुम्बिनी दर्शनका लागि जाने गर्दछन् भने केही सीधै पोखरा र काठमाडौं जाने गर्छन् । अध्यागमन कार्यालयले स्थलमार्गबाट आउने भारतीयको तथ्याङ्क राख्दैन । नारायणगढ–मुग्लिङ सडकका कारण पर्यटकको आावागमन घटेको हुन सक्ने सिद्धार्थ ट्राभल एशोसिएशन (साटा) लुम्बिनीका निवर्तमान अध्यक्ष सागर अधिकारीले बताए ।

SHARE

Author: verified_user

0 comments: