बुटवलबाट पोखरा यात्राः बन्दैछ छिटो र छोटो बाटो

SHARE

बुटवलबाट पोखरा यात्राः बन्दैछ छिटो र छोटो बाटो

बुटवलबाट पोखरा पुग्ने यात्रुहरुको चिन्ता एउटै छ, नारायणगढ–मुग्लिन हुँदै जानु पर्दा बाटो लामो छ। स्याङ्जा हुँदै जाने बाटो सुरक्षित छैन, यात्राले भन्दा भयले गलाउँछ। तर, अब भने झण्डै आधा मात्र दूरी रहेको बुटवल–पाल्पा–स्याङ्जा–पोखरा सडकको स्तरोन्नति हुने भएको छ। यात्रुहरुका लागि यो खुशीको खबर हो।

बुटवलबाट स्याङ्जा हँुदै पोखराका लागि दैनिक ७२ यात्रुवहाक बस छुट्ने गर्दछन् भने नारायणगढ हुँदै ३४ वटा। तर स्याङ्जा हुँदै पोखरा पुग्ने बसहरु खाली–खाली जस्तै हुन्छन्। सिद्धार्थ राजमार्ग हुँदै पोखरा जान १ सय ६५ किलोमिटर दुरी तय गर्नु पर्दछ। तर बुटवलबाट नारायणगढ हुँदै जाँदा २ सय ४० किलोमिटर पर्दछ। ‘दुरी लामो भएपनि समय उस्तै–उस्तै लाग्छ। यताबाट बढी घुम्ती भएकाले सवारीको गति कम हुन्छ’ पश्चिम नेपाल बस व्यवसायीक संघका बुटवल स्यांङजा रुट संयोजक चेतनारायण बेलबासेले भन्छन् ‘भाडा बढी तिर्न परेपनि केही यात्रुहरु सहजताको लागि नारायणगढ हुँदै जाने गरेका छन्।’

सडक विभागले सिद्धार्थ राजमार्ग स्तरोन्नतीको लागि डिपीआर तयार गरेको छ। यसल बुटवलदेखि पाल्पा र स्याङ्जा हुँदै पोखरा पुग्ने सडकको मौजुदा अवस्था परिवर्तन गर्नेछ। योजना अनुसार सिद्धार्थ राजमार्ग स्तरोन्नती भयो भने बुटवलबाट पाल्पा र स्याङ्जा हुँदै पोखरा जान पनि सहज र छिटो हुने छ। ‘डिपीआर तयार भइसकेको छ र अब लागत कसरी जुटाउने भन्ने बारे मन्त्रालयमा छलफल हुने छ। सरकार आफैले बनाउने कि दातृ निकायलाई दिने भन्ने बारेमा निर्णय हुन्छ’ विभागका सिनियर डिभिजन इन्जिनियर अजयकुमार मुलले भने।

राजमार्ग स्तरोन्नती भएमा सडक पूर्ण रुपमा २ लेनको हुने छ। अहिले सडकको चौडाई साढे ५ देखी ६ मिटर सम्मको मात्र छ। ‘त्यसमा चौडाई बढाएर साढे ७ मिटर कालोपत्रे भाग हुने छ। त्यसबाहेक दुबैतिर एक–एक मिटरको सोल्जर (कालोपत्रे बाहेको भाग) र नाली सहित गर्दा १२ मिटर जति चौडा बन्ने छ’ सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणी आचार्यले भने। त्यस्तै, घुम्तीहरुमा १४ मिटर जती रेडियस हुने छ। सडक किनारको खोला र खोल्सा पट्टी आधुनिक खालको स्टील र आरसीसी ‘व्यारियर’ समेत राखिने छ।

बढी घुम्ती भएका कतिपय ठाउँमा सोझै पुल बनाउने सम्भावनालाई पनि योजनाले समेटेको छ। ‘एउटा ठाउँबाट नजिकैको अर्को ठाउँमा पुग्न बढी दुरी लाग्ने अवस्था छ। त्यस्तो ठाउँमा केही लामो पुल बनाएर भएपनि दुरी छोट्याइने गरी अध्ययन भएको छ। यसलाई पनि डिपीआरमा समेटी रि–डिजाईन गरिने छ’ इन्जिनियर आचार्यले भने ‘यसो भयो भने बुटवल पोखराको दुरी १५–२० किलो मिटरसम्म घटाउन सकिन्छ।’

सिद्धार्थ राजमार्ग स्तरोन्नतीको लागि निर्माण सुरु भएपछि अढार्ई देखि ३ बर्षमा काम सकिने सडक विभागले जनाएको छ। बारम्बार दुर्घटना भइरहेको यो सडक स्तरोन्नती पछि दुर्घना कम हुने अनुमान विभागको छ। पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवन बन्जाडेले भने ‘फराकिलो सडक भयो भने चालकले सहज तरिकाले सवारी साधन चलाउन पाउने भए। गन्तव्यमा पुग्न पनि छिटो होला।’

लेखक - सुदिप भण्डारी

नेपालीखबर

SHARE

Author: verified_user

0 comments: