
मेची-महाकाली बुलेट रेल बनाइदिन जापानलार्इ नेपालको प्रस्ताव
८ कात्तिक, काठमाडौं । सरकारले जापान सरकारसँग मेची-महाकाली रेलमार्ग निर्माणको जिम्मा लिन प्रस्ताव गरेको छ । त्यसका लागि आवश्यक ऋण जुटाइदिन पनि सरकारले आग्रह गरेको छ ।
२५ असोज-१ कात्तिकमा जापान भ्रमण गरेका भौतिक योजना तथा यातायात मन्त्री वीरबहादुर बलायरले जापानी समकक्षी कासुनरी टाकाहासीसँग यस्तो प्रस्ताव राखेका हुन् । मन्त्री बलायरले भने, ‘नेपालमा पनि जापानी प्रविधि र सीपमा बुलेट रेल बनाउने उद्देश्यले मन्त्री टाकाहासीसँग आग्रह गरेको हुँ । त्यसमा उनी सकारात्मक देखिएका छन् ।’
स्वदेश फर्किएलगत्तै मन्त्री बलायरले जापानी राजदूत मासासी ओगावासँग त्यसबारे छलफल अगाडि बढाएका छन् ।
‘उनीहरुले पनि राजदूतमार्फत छलफल चलाइरहेका छन्, हामी छिट्टै टुंगोमा पुग्छौं,’ मन्त्री बलायरले भने ।
ठेक्का तथा त्यसका लागि आवश्यक रकम जुटाउन जिम्मा दिनेगरी मन्त्रालयले उक्त रेलमार्ग निर्माणको जिम्मा जापानलाई दिन चाहेको हो ।
नौ सय ४५ किलोमिटर लम्बाइको रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) तयार भइसकेको छ । केही स्थानको डीपीआर निर्माणका लागि परामर्शदाता छनोटको काम अगाडि बढेको छ ।
अहिले बर्दिवासदेखि लालबन्दीसम्मको ३० किलोमिटर रेलमार्ग निर्माणाधीन छ । उक्त खण्डमा कल्भर्ट र पुल निर्माणलगायत काम पनि भइरहेको छ ।
सन् २००८ मै तयार भएको हो, उक्त रेलमार्गको अवधारणा । जुन, निर्माणको चरणमा प्रवेश गर्न सकेको छैन ।
रेलवे विभागले पश्चिममा बुटवलसम्मको डीपीआर तयार गरेको छ । अहिले बुटवलदेखि कोहलपुर र कोहलपुरदेखि पश्चिम क्षेत्रका लागि डीपीआर निर्माणको प्रक्रिया अगाडि बढेको छ ।
साथै, जापान भ्रमण क्रममा मन्त्री बलायरले नेपाललाई अनुदानमा पहिलो सूचीमा राख्न पनि आग्रह गरेका छन् ।
0 comments: