
भैरहवा विमानस्थलमा चिनियाँ कम्पनीको व्यवस्थापन फेरिने
२९ भदौ, काठमाडौ । नेपाल सरकारले ठेक्का तोड्ने चेतावनी दिएपछि गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन कम्पनीले व्यवस्थापन समुह नै फेर्न लागेको छ ।
गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्माका अनुसार नर्थ वेस्ट कम्पनीले म्यानेजरका साथै विज्ञहरुको टोली फेर्न लागेको हो । काममा तिब्रता दिन नसकेका म्यानेजर सो जुनलाई कम्पनीले फिर्ता बोलाइसकेको छ । अब उनको ठाउँमा नयाँ म्यानेजर सु बैंग आउन लागेका छन् ।
शर्माका अनुसार म्यानेजर सो जुनसँग अंग्रेजी भाषाको दख्खल पनि थिएन, जसका कारण नागरिक उड्डयन प्राधिकरणको टोलीहरुलाई उनीसँग कुराकानी गर्न पनि कठिन भइरहेको थियो । त्यसैले आयोजनाले नर्थ वेस्टलाई अंग्रेजी भाषामा समेत दख्खल राख्ने व्यक्तिलाई नयाँ म्यानेजरका रुपमा पठाउन भनेको थियो ।
सोहीअनुरुप अंग्रेजी भाषामासमेत दख्खल राख्ने बैंगलाई नर्थ वेस्टले म्यानेजरका रुपमा पठाउने निर्णय गरेको आयोजनाका अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।
**यो पनि पढ्नुहोस** : बसको टिकट बुक गर्दा ठगिनुहोला है ! कहाँ पुग्न कति लाग्छ भाडा ? (हेर्नुहोस सूचीसहित)
म्यानेजरसँगै कम्पनीले अन्य चार जना विज्ञको टोली पनि परिवर्तन गर्न लागेको छ । अहिले यस आयोजनाका लागि भनेर नर्थ वेस्टले ६ जना विज्ञको टोली खटाएको छ ।
कामको गति सुस्त
गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी नर्थ वेस्टले नेपाली कम्पनी नर्थ वेस्ट नेपाल इन्प|mा प्रालिलाई जिम्मा दिएको थियो । यी दुवै कम्पनीबीच रकम लेनदेनको विषयमा विवाद उत्पन्न भएपछि पछिल्लो समयमा चिनियाँ कम्पनी आफैंले विमानस्थलको निर्माण कार्य गर्दै आएको छ ।
विसं. ०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतम बुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तरराष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न लागिएको हो ।
एसियाली विकास बैंक -एडीबी) को ऋण सहयोगमा अन्तराष्ट्रिय विमानस्थलको निर्माण सुरु भएको यो आयोजनाको कुल लागत ६ अर्ब २२ करोड ५१ लाख छ ।
अहिलेसम्म कम्पनीले ३० प्रतिशत मात्रै काम सकेको छ । यसले सन् २०१८ जुलाई महिनासम्म सम्पन्न गर्ने सम्झौता गरेको छ । अहिले विमानस्थलमा रन वे र टर्मिनल भवन निर्माणको काम भइरहेको छ ।
**यो पनि पढ्नुहोस** : यसरी कुटिए डिउटीमा रहेका ट्राफिक प्रहरी,सामाजिक सञ्जालमा भाईरल (भिडियो)
नर्थ वेस्टले काम इमान्दारितापूर्वक गर्ने हो भने अबको ८ महिनामा मुख्यजसो काम सकिने शर्मा बताउँछन् । दुई सय कामदार र आवश्यक प्रविधि भित्राउने हो भने ८ महिनामा विमानस्थल निर्माणको लगभग ८० प्रतिशत काम सकिने शर्माको भनाइ छ ।
कामदार थप गरिँदै
नर्थ वेस्टले केही कामदारहरु पनि थप गरेको छ । सरकारले ठेक्का तोड्ने चेतावनी दिएसँगै कम्पनीले दोब्बर भन्दा बढी कामदार थपेको शर्मा बताउँछन् ।
उनले भने ‘अहिले कामदार थप गरेको छ भने व्यवस्थापन समूह पनि फेर्न लागेको छ, यसले काममा सुधार ल्याए अर्काे कम्पनी खोज्नु उपयुक्त हुँदैन ।’
सरकारले चेतावनी दिनुअघि यो कम्पनीले आयोजनास्थलमा जम्मा ७० जना मात्रै कामदार खटाएको थियो । तर, अहिले भने यसले १ सय ७४ जना कामदार मार्फत काम गराइरहेको छ । समयमै निर्माण सम्पन्न गर्नका लागि भने कम्तिमा पनि २ सय कामदारको आवश्यकता पर्ने शर्मा बताउँछन् ।
रोलर पनि थप हुने
अहिले विमानस्थल निर्माणस्थलमा दुईवटा मात्रै रोलर छन् । तर, यो आयोजना निर्माणक लागि कम्तिमा पनि ५ वटा रोलरको आवश्यकता पर्ने आयोजनाका अधिकारीहरु बताउँछन् । अहिले ठेकेदार कम्पनीले दुईवटा रोलर थप्न लागेको र सामान केरुङ नाकासम्म आइपुगेको आयोजना प्रमुख शर्माले बताए ।
**यो पनि पढ्नुहोस** : दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो
शर्मा भन्छन् ‘ठेक्का तोडेर नयाँ कम्पनीलाई बनाउँन दिँदा पनि लामो समय लाग्छ, त्यसैले यही कम्पनीलाई नै कसरी काममा तिब्रता दिन लगाउन सकिन्छ भनेर हामीले सोचिरहेका छौं ।’
यस्तै ढङ्गले काममा सुधार गर्ने हो भने आयोजनाको ठेक्का तोड्नु नपर्ने शर्माको भनाइ छ । तर, कम्पनीले मासिक ७ देखि ८ प्रतिशतसम्म काम सक्नुपर्नेमा अहिले मासिक ०.५ प्रतिशत मात्रै काम भइरहेको छ ।
Source: OnlineKhabar.com
0 comments: