राजा महेन्द्रले नमानेको भारतीय प्रस्ताव ४३ बर्षपछि देउवाले पूरा गरिदिए

SHARE

राजा महेन्द्रले नमानेको भारतीय प्रस्ताव ४३ बर्षपछि देउवाले पूरा गरिदिए

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा भएको एउटा सम्झौताले नेपाली राजनीतिलाई फेरि तरंगित गरिदिएको छ । खासगरि, भारतले लामो समयदेखि कोसिस गर्दै आएको कोशी उच्च बाँध बनाउने सम्झौतामा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा बिहीबार सार्वजनिक गरिएको नेपाल र भारतको संयुक्त विज्ञप्तिको २८ नम्बर बुँदामा दुई देशबीच सप्तकोशी उच्च बाँध बनाउने सहमति उल्लेख छ । नेपालका पूर्वप्रधानमन्त्रीहरु, सीमाविद् र अन्य विज्ञहरुले समेत विरोध गर्दै आएको कोशी उच्च बाँधमा प्रधानमन्त्री देउवाले सहजै हस्ताक्षर गर्नुले निकै ठूलो आशंका उब्जिएको छ ।

हुन त २०३१ साल अर्थात ४३ बर्षअघिदेखि नै भारतले कोशी नदीमा उच्च बाँध बनाउने प्रस्ताव गर्दै आएको थियो । पञ्चायतकालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापामार्फत भारतले यो प्रस्तावलाई अघि बढाएको थियो । तर, त्यसलाई तत्कालिन राजा महेन्द्र शाहले विरोध गरेपछि असफल भएको थियो । ४३ बर्षपछि भारतको त्यही प्रस्तावलाई गणतन्त्र नेपालका प्रधानमन्त्री देउवाले सहर्ष पूरा गरिदिएका छन् । जबकी देउवाको यो सम्झौताको प्रतिपक्षी नेकपा एमालेदेखि अधिकांश दलहरु विरोधमा उत्रिएका छन् । माओवादी निकट युवा संगठन वाइसीएलले ६ बर्षअघि नै यो प्रस्तावलाई ‘राष्ट्रघाती’ भन्दै विरोध गरेको थियो । जतिबेला माओवादी प्रतिपक्षमा थियो । तर, संयोग कस्तो परेको छ भने अहिले त्यही माओवादी सत्ताको मुख्य साझेदार छ । र, उसले देउवाले गरेको सम्झौतालाई माओवादीले आँखा चिम्लेझैं गरेको छ ।

कोशी उच्च बाँध यसकारण घातक

कोशी उच्च बाँधको बारेमा भारत सरकारले यसअघि नै पटकपटक सर्वेक्षण र अध्ययन गरेको छ । पटकपटक वार्ता र छलफल पनि भएका छन् । हरेक वार्ता र छलफलमा नेपालका राजनीतिक दल, सरकारी अधिकारीलाई भारतले कोशी उच्च बाँधको प्रस्ताव राख्दै आएको थियो । तर, यो घातक हुने भन्दै नेपाली अधिकारीहरु पन्छँदै आएका थिए ।

सुनसरी जिल्लाको बराह क्षेत्रदेखि डेढ किलोमिटर उत्तरतर्फको सप्तकोशी नदीको साँघुरो घाँटीमा २ सय ६९ मिटर अग्लो र १ किलोमिटर लामो बाँध बनाउने भारतको योजना छ । भारतले आफ्नो भूभाग डुबानमा नपरोस् भन्ने उद्देश्यले अग्लो ब्यारेज बनाउन खोजेको हो । जबकी भन्टाबारी (भीमनगर) स्थित अहिलेको ब्यारेजको गहिराई ३० मिटरको हाराहारीमा छ । ३० मिटर अग्लो ब्यारेज बनाउँदा त कोशीले बितण्डा मच्छाउँदै आएको छ भने भारतसँगको सम्झौता अनुसार कोशी उच्च बाँध बनेमा नेपालको लगभग २ सय वर्गकिमी भूभाग जलाशयमा परिणत हुन सक्ने चेतावनी विज्ञहरुले दिइसकेका छन् ।

भारतले प्रस्ताव गरेको बाँधले धनकुटा, भोजपुर, सुनसरी, उदयपुर, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लासम्मका तटीय भूभाग डुबानमा परिणत हुन सक्ने सिमाविद् डा. बुद्धिनारायण श्रेष्ठ बताउँछन् । १५ हजार घरधुरी डुबानमा पर्नुका साथै ७५ हजार नेपाली विस्थापित हुनसक्ने अनुमान छ ।

सन् १९८१ बाट संचालनमा आएको कोशी ब्यारेजलाई भारतले १९९ वर्षका लागि सञ्चालन, नियमन र नियन्त्रणको एकाधिकार लिएको छ । तर, कोशी ब्यारेजको उचाई कम भएका कारण भारतमा समेत अनेक समस्या उत्पन्न भएकाले भारतले विकल्पका रुपमा उच्च बाँध निर्माणका लागि दबाब दिँदै आएको हो । जबकी भारतले कोशी ब्यारेज निर्माणको सम्झौतासमेत पालना गरेको छैन् ।

सप्तकोशीका कारण अनेक वितण्डा मच्चाएर नेपालमा धनक्षतिको ठूलो क्षति भइरहेको छ । यस्तो परिस्थितिमा पनि कोशीको चाबी हातमा लिएको भारत अनुदार बन्दै आएको छ । भारतले समयमै ढोका नखोलिदिएका कारण गत हप्तामात्रै बाढीले वितण्डा मच्चाएको हाामी माझ छर्लंगै छ । तर, अहिले उच्च बाँध निर्माणमा प्रलोभन दिएर थप नेपाली भूभाग समेत कब्जा गर्ने भारतीय दाउलाई समेत बुझ्न नसक्नु प्रधानमन्त्री देउवाको महाभूल हो ।

SHARE

Author: verified_user