दाउन्नेको अवरुद्ध सडक एकतर्फी सञ्चालनमा
१ भदौ, नवलपरासी । जिल्लाको दाउन्ने सडकखण्ड भत्किएपछि अवरुद्ध बनेको सडक बिहीबार बिहानदेखि एकतर्फी सञ्चालनमा आएको छ ।
अवरुद्ध सडक २४ घन्टाका लागि बन्द गरेर मर्मत गरिएपछि यातायात सञ्चालनमा आएको हो ।
बिहान २ बजेबाट यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेकबहादुर राउतले बताए ।
जिल्ला प्रशासन कार्यालय, नवलपरासीले सडक मर्मतका लागि भन्दै मंगलबार राति १० बजेदेखि बुधबार राति १० बजेसम्मका लागि सडक बन्द गराएको थियो ।
यसअघि साना सवारी साधन पास भएको भए पनि ठूला सवारी साधन पास हुन सकेका थिएनन् । अहिले दुवैतर्फबाट पालैपालो साना तथा ठूला सवारी साधन पास गराइएको राउतले बताए ।
बाटो भत्किएको ठाउँमा यातायात सञ्चालनमा आए पनि एकतर्फी मात्र यातायात सञ्चालनमा रहेको छ । तथापि दुवैतिरका सवारी साधन पास हुन थालेको राउतले बताए ।
यसअघि पूर्वबाट पश्चिम जाने ठूला साना सवारी साधन पास भए पनि पश्चिमबाट पूर्व आउने हल्का साना सवारी साधन मात्र पास भएका थिए ।