सिजनल फ्लु : बढ्दो जोखिमसँगै सचेत हुन आवश्यक

SHARE

सिजनल फ्लु : बढ्दो जोखिमसँगै सचेत हुन आवश्यक

मौसमी रुघाखोकी सिजनल फ्लुबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ । बुधवार थप एक जनाको मृत्यु भएपछि सात महिनामा यस रोगबाट ६ जनाको मृत्यु हुँदा ३ जना महिला छन् । कास्कीका तीन, काठमाडौंका दुई र स्याङजा वालिङका एक जना बिरामीको यही रोगका कारण मृत्यु भइसकेको छ । यो स्वास प्रणालीको संक्रामक रोग हो । यसले रुघाखोकीको भाइस जस्तै फोक्सो, घाँटी तथा नाकको कोषिकालाई प्रभावित गर्छ । डराई हाल्नुपर्ने अवस्था नभएपनि सावधानी भने अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।

स्याङजामा सिजनल फ्लुको प्रकोप

मौसमी रुघाखोकी जसलाई बोलीचालीमा स्वाइन फ्लु भन्छौँ, त्यसैको प्रकोप वालिङमा देखिएको छ । वालिङ नगरपालिका १४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको १२ गते फ्लुका कारण मृत्यु भएको थियो । पछिल्लोपटक त्यहाँबाट २० वटा नमुना संकलन गरी परिक्षण गर्दा पाँच जनामा इन्फ्लुएन्जा ए पोजेटिभ भेटिएको छ । एक जनामा भने इन्फ्लुएन्जा बी पोजेटिभ भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जाका जनस्वास्थ्य अधिकृत रामचन्द्र अर्यालले जानकारी दिनुभयो । केही दिन अघि दैनिक ५० जना बिरामी अस्पताल पुग्ने गरेकोमा हाल २५/३० जना बिरामी अस्पताल पुग्ने गरेका छन् । “अहिले पहिलेको जस्तो त्रास छैन”, जनस्वास्थ्य अधिकृत अर्यालले भन्नुभयो, “प्रकोप फैलन नदिन हामीले सर्तकता अपनाएका छौ ।” अर्यालका अनुसार इपिडिमियोलोजीबाट प्राप्त भएको औषधी जिल्लामा गएको, सचेतनाका लागि विभिन्न सञ्चारमाध्यमबाट सूचना प्रसारण गरिएको, बिरामीको उपचार भइरहेको तथा बिरामीको अनुगमन समेत भइरहेको छ ।

महामारीको रुपमा फैलने सक्ने संभावना न्युन

सन् २००९ मा यो माहामारीको रुप लिएको थियो, त्यसपछि मानिसहरु स्वाइन फ्लु को नामले पनि तर्सिने गरेका छन् । विगतलाई हेर्ने हो भने पनि २०१५ मा यस रोगकै कारण जाजरकोटमा ८ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । स्याङ्जाको वालिङमा यसको प्रकोप देखापरेपनि महामारीको रुपमा फैलन सक्ने संभावना निकै कम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको इपिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. गुणनीधि शर्मा बताउनु हुन्छ । सन् २०१७ को सुरुवातदेखि बिहिवारसम्मको तथ्यांक अनुसार २ सय २ जनामा एच१ एन१ ( Pdm 2009), पाँच जनामा एच३ एन२ र ११ जनामा टाइप बी पोजेटिभ भेटिएको छ । “वालिङमा भएको प्रकोपलाई त्यहाँको स्थानीय स्तरको प्रकोप भन्छौँ, यो देशव्यापी रुपमा महामारी चाँही नहोला भन्छौँ”, शर्माले भन्नुभयो । महामारीको रुपमा फैलन सक्ने संभावना निकै कम भएपनि सचेत हुन भने आवश्यक रहेको शर्माको भनाई छ ।

अस्पतालमा बिरामीको चाप बढ्दै

राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालमा दैनिक १० देखि १५ जना बिरामी पुग्ने गरेका छन् । गएको आइतवार देखि मंगलवारसम्म ५० बढी बिरामीले परीक्षण गराएका छन् । अस्पतालका रिसर्च संयोजक डा. शेरबहादुर पुनका अनुसार रुघाखोकीको समस्या देखिएपनि पनि धेरै बिरामी डरकै कारण अस्पताल आउने गरेका छन् । संक्रमण हुने क्रम बढेपनि मृत्यु हुने क्रम भने घट्दै गएको डा. पुनको भनाई छ । “पहिले रोगबारे थाहा नहुँदा धेरैको मृत्यु पनि भयो तर अहिले त्यस्तो छैन”, डा. पुनले भन्नुभयो, “केही हुने बित्तिकै अस्पताल आउनु हुन्छ, यसले संक्रमणको दर धेरै देखिएपनि मृत्यु हुने क्रम भने घट्दै पनि गएको छ ।” महाराजगञ्जस्थित शिक्षण अस्पतालको आईसियुमा अहिले एक जना बिरामी उपचारत छन् । आईसियुका डा. प्रमेश श्रेष्ठका अनुसार केही दिन अघि दुई जना बिरामी उपचारपछि घर फर्केका छन् ।

आवश्यक तयारी गरिएको सरकारको दाबी

स्याङजासंगै कास्की, रुपन्देही, कपिलवस्तु लगायतका केही जिल्लामा यस रोगको बिरामीको संख्या बढ्दै गइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । संभावित जिल्लामा तथा संक्रमण फैलन नदिन आफुहरुले ७५ जिल्लाका जनस्वास्थ्य कार्यालय सबै सतर्क अवस्थामा रहेको डा. शर्माले बताउनुभयो । आवश्यक पूर्वतयारी गरेको बताउँदै डा. शर्माले भन्नुभयो, “जहाँ–जहाँ यो रोग देखिने संभावना छ, त्यहाँ जिल्ला जनस्वास्थ्य कार्यालयको द्रुत व्यवस्थापन टोली ( radip response team ) अलर्ट छ ।” केन्द्रीय स्तरदेखि जिल्ला स्तरमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिएको महाशाखाले जनाएको छ । साथै आवश्यक मात्रा औषधी तथा अन्य सामग्री पर्याप्त मात्रामा मौज्दात रहेको महाशाखाका निर्देशक भीम आचार्यले जानकारी दिनुभयो । उपत्यकाको विभिन्न अस्पतालहरुमा ( जहाँ बिरामीको संख्या धेरै छ ) कति बिरामी आउँछन, सबैको रिपोर्टिङ्ग गर्न परिपत्र गरिएको आचार्यले बताउनुभयो । रोगको लक्षण देखिने बित्तिकै आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै अनावश्यक औषधी नखान समेत महाशाखाले सबैलाई आग्रह गरेको छ ।

भक्तपुर र ललितपुरमा सिजनल फ्लुको अवस्था

राजधानीका अस्पतालमा चाप बढ्दै गएपनि भक्तपुर र लतिपुरमा भने सिजनल फ्लुको समस्या देखिएको छैन । स्याङजाबाट रिफर भएर आएर ललितपुरमा एकजनाले उपचार गराइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख झलक शर्माले जानकारी दिनुभयो ।

रुघाखोकीको समस्या लिएर दैनिकजसो ४/५ जना बिरामी भक्तपुर अस्पताल पुग्ने गरेका छन् । भक्तपुरबाट परीक्षणका लागि टेकुस्थित शुक्रराज अस्पतालमा लगिएका बिरामीमा नेगेटिभ भेटिएको अस्पतालका फिजिसियन डा. सुनिल ढुंगेलले जानकारी दिनुभयो । भक्तपुरमा पनि हालसम्म त्यस्तो समस्या नदेखिएको अस्पतालले जनाएको छ ।

स्वाइन फ्लु होइन, सिजनल फ्लु

यो रोग इन्फ्लुएन्जाको ए भाइरसले गर्दा हुन्छ । यो भाइरस एच१ एन१ ( Pdm 2009), को नामले चिनिन्छ । एच १ एन १ को संक्रमण सुरुका दिनमा सुँगुरबाट फैलिएको थियो । सोही कारण स्वाइन फ्लु भनियो तर अहिले फैलिरहेको फ्लु वर्षेनी देखा पर्ने तथा मानिसबाट मानिसमा सर्ने भएकाले यसलाई सिजनल फ्लु भन्न सरोकारवालाले सुझाएका छन् । यो रोग वर्षको दुई पटक देखा पर्ने गरेको इपिडिमियोलोजी महाशाखाले जनाएको छ । विशेषगरी माघदेखि चैतसम्म र साउनदेखि असोजसम्म यो फ्लुले सताउने गर्छ । यसले सन् २००९ मा महामारीको रुप लिएपनि विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ले १० अगस्त २०१० मा महामारीको समाप्त भएको जनाएको थियो । तर अधिकांशले यसलाई स्वाइन फ्लुकै नामले चिन्ने गर्छन् । यस रोगलाई मौसमी रुघाखोकी भनिएतापनि सबै रुघाखोकी इन्फुलुएन्जा नहुने गरेको चिकित्सक बताउँछन् ।

सिजनल फ्लुको लक्षण

– ज्वरो आउनु

– टाउको दुख्नु

– खोकी लाग्नु

– घाँटी दुख्नु

– हल्का झाडापखाला हुने

– बालबालिकामा बान्ता हुनु

– शरीर दुख्नु

– श्वासप्रश्वासमा अवरोध आउनु

बच्ने उपाय

– खोक्दा, हाच्छिउँ गर्दा सफा कपडा, रुमाल वा पाखुराले नाक, मुख छोप्ने

– साबुन पानीले मिचि मिचि हात धुने

– पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने

– ज्वरो आएको व्यक्ति नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठमा आराम गर्ने

– अनावश्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाने

– ज्वरो रुघाखोकी लागेको बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा जाने

– शंकाष्पद रोगी व्यक्तिबाट सकभर टाढा बस्ने

– आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात नलैजाने

– सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने

– अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगर्ने

– नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुन: प्रयोग गर्ने

अन्तमा

यो रोग यो एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो र सजिलैसंग सर्ने भएकाले जोखिम उच्च भएपनि आत्तिहाल्नुपर्ने अवस्था छैन । विशेषगरी यसले रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा दिर्घरोगीलाई बढी दुख दिने गर्छ । त्यसमा पनि ६५ वर्ष माथिका दम, खोकी, मिर्गौला, मधुमेह, उच्च रक्तचाप, मद्यपान गर्ने, गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका यो रोग सर्न सक्ने संभावना उच्च छ ।

मौसमी रुघाखोकीका रुपमा देखिने यस्ता भाइरसले सुरुमा माथिल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमण भए पनि विस्तारै फोक्सोमा सर्ने र निमोनिया गराएर ज्यानै समेत लिनसक्छ । मौसमी रुघाखोकीलाई घातक रुपमा लिनु भन्दा सचेत हुन आवश्यक छ । समयमै उपचारका लागि अस्पताल पुग्न सके बेलैमा रोगको निदान गर्न सकिन्छ ।

SHARE

Author: verified_user