५ पुस, काठमाडौं । बंगलादेशको ढाकामा अध्ययनका लागि गएकी एक नेपाली छात्रा मृत फेला परेकी छिन् ।
ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनरत जनकपुरकी २० वर्षीया विनिशा साह आफ्नो होस्टेलको कोठाभित्र मृत फेला परेकी हुन् ।
उनी सो कलेजको २२ औं व्याचको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।
उनको शव सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको ढाकास्थित नेपाली दूतावासका उपप्रमुख धनबहादुर वलीले जानकारी दिए । उनका अनुसार साहका साथी र प्रहरीले घटनाबारे दूतावासलाई जानकारी गराएका थिए । त्यसपछि मृतकका आफन्तलाई दूतावासले जानकारी गराएको थियो ।
उनका साथीहरुले दिएको जानकारी अनुसार परीक्षा हलबाट निराश हुँदै होस्टलको कोठामा फर्किएकी उनी बुधबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
कलेज सन्चालक अब्दुल गफुरले ट्युसन फी समयमै नतिरेपछि साहलाई परीक्षामा बस्न नदिइएको स्थानीय मिडियालाई बताएका छन् ।
सेकेन्ड टर्मको परीक्षाको प्रवेशपत्र लिनका लागि लागि कलेजले दुई लाख टाका विद्यार्थीहरुबाट माग गरेको साहका सहपाठीहरुलाई उद्धृत गर्दै बंगलादेशको जागो न्यूज अनलाइनले लेखेको छ । अनलाइनका अनुसार कलेज प्रशासन र शिक्षकहरुको दबावका कारण साहले आत्महत्या गरेको अनुमान गरिएको छ ।
भतरा प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।
माल्दिभ्समा यस्ता सुन्दर रिसोर्ट बनाउने नेपाली इन्जिनियर
माल्दिभ्स– रोजगारीका लागि विदेश गएका नेपालीहरुले श्रम मात्र बेचेको खबर हामीले बढी सुन्ने गरेका छौं। कहिलेकाहीँ आफ्नो सिपको दक्षता देखाएर नेपालीहरुले विदेशमा देशको नाम उच्च राखेको समाचार फाट्टफुट्ट आउने गरेको छ।
यस्तै आफ्नो सिपले माल्दिभ्सलाई सिँगारेर देशलाई गौरवान्वित पार्ने नाम हो, कृष्णप्रसाद चालिसे। जो पेसाले सिभिल इन्जिनियर हुन्।
उनी ९ वर्षदेखि माल्दिभ्समा छन्। यहाँका बन्जर टापुलाई आफ्नो इन्जिनियरिङको कौशलले सिँगारेर उनले सुन्दर रिसोर्टमा ढालेका छन्। चारैतिर समुद्रले घेरेका यस्ता टापुमा रिसोर्ट मात्र होइन, पानीमुनि पनि रेस्टुराँ निर्माण गरेर उनले आफूलाई अब्बल साबित गरिसकेका छन्।
त्यसैले उनलाई माल्दिभ्सको चर्चित निर्माण कम्पनी एट्मोस्फेयर होटेल एन्ड ग्रुपले कतै उम्किनै दिँदैन। उनी आफ्नो कम्पनी छोडेर अन्यत्र जान्छन् भन्ने डरले उनलाई प्रोजेक्ट डाइरेक्टर जस्तो ठूलो जिम्मेवारी सुम्पिएको छ।
एट्मोस्फेयर माल्दिभ्सको यस्तो कम्पनी हो, जसले अरुका लागि रिसोर्टको भौतिक संरचना निमार्ण मात्र गर्दैन, आफैले पनि रिसोर्ट र रेस्टुराँ सञ्चालन गर्ने काम गर्छ। यी दुवै काममा चालिसे खटिने गरेका छन्। करिब ३ हजार कर्मचारीमाथि उनको प्रत्यक्ष–अप्रत्यक्ष निगरानी हुने गर्दछ।
उनी संलग्न भएर ८ वटा रिसोर्ट, होटेल र रेस्टुराँको संरचना निर्माण भइसकेको छ। जसमा उनले आफ्नो एकल नेतृत्वमा ३ वटा रिसोर्टको काम पूरा गरिसकेका छन्। एउटाको निर्माण कार्य अन्तिम अवस्थामा छ।
उनले निर्माण गरेको रिसोर्टमा अराइभल जेट्टी र जुमेराह धेभानाफुसी पर्छ। युनाइटेड अरब इमिरेट्स (युएई) का राजाको लगानी रहेको भनिएको जुमेराह होटलको विश्वभरि सयभन्दा बढी सञ्जाल भएको बताइन्छ।
यो होटलको संरचना आफैमा लोभलाग्दो छ। चालिसेको सिपले यहाँ मन्त्रमुग्ध नहुने सायदै कोही भेटिएलान्। (तस्बिरमा हेर्नुहोस्)
उनले बनाएको अर्काे सुन्दर संरचना हो, ओजन रिसोर्टको। ससाना जमिनका भूभाग जोडेर बनाइजस्तो यो कलात्मक रिसोर्ट उनको एकल नेतृत्वमा सम्पन्न भएको हो । (तस्बिरमा हेर्नुहोस्)
यी बाहेक ‘ओब्लु वाई एट्मोस्फेयर’ पनि उनको इन्जिनियरिङ क्षमताको उत्कृष्ट नमूना हो।
उनले समुद्रमाथि करिब आधा दर्जन भौतिक संरचना बनाएका छन् नै, समुद्रमुनि पनि रेस्टुराँ निर्माण गरेका छन्। यसमा पर्छ, ओजन रिसोर्ट अन्डरवाटर रेस्टुराँ। (तस्बिरमा हेर्नुहोस्)
काठमाडौंको पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ग्य्राजुएट गरेका उनले पोस्ट ग्य्राजुएट जर्मनीबाट गरेका हुन्। उनी नेपालमा हुँदा शर्मा एन्ड कम्पनीमा आबद्ध थिए। काठमाडौंमा चलचित्र विकास संस्थानको भवन, कमलादी कमर्सियल कम्प्लेक्स निर्माण हुँदा यो प्रोजेक्टमा उनी पनि संलग्न थिए।
उनले जगदम्बा सिमेन्टको प्रोजेक्ट म्यानेजर भएर पनि केही समय काम गरे।
जर्मनमा पढाइ सकेर देश फर्किएका चालिसे आफ्नै ठाउँमा केही गर्न चाहन्थे। तर, २०६३ सालपछि देशमा फैलिएको राजनीतिक अस्थिरताका कारण उनी नेपाल छोडेर विदेशिए।
भन्छन्, ‘कहिले तराई, कहिले कुन जाति, कहिले कुन दलले बन्द गरेर देश नै लथालिंग भयो। मैले चाहेको काम गर्ने वातावरण देखिनँ। त्यसैले विदेशिने निर्णय गरेँ,’ माल्दिभ्समा नेपाल लाइभसँग छोटो कुराकानी गर्दै उनले भने।
उनी सुरुमा माल्दिभ्स कामको खोजीमा आएका थिएनन्। साथीहरुले घुम्न मात्र बोलाएका थिए। तर, उनलाई यहाँको वातावरणले लोभ्यायो। फेरि आफ्नो सिपको सम्मान हुने देखेपछि बस्ने रहर पलायो।
‘सुरुमा मलाई यहाँ टिक्न गाह्रो पर्यो। जतात्यतै पानी। घरको सम्झनाले ४ महिनामै फर्किने मनस्थितिमा पुगिसकेको थिएँ,’ उनी सम्झिन्छन्।
तर, काम गर्न सुरु गरेपछि बिस्तारै यतै रमाउन थालेको उनी बताउँछन्। ‘मेरो काम उनीहरुले यति मन पराए। फर्किन्छ कि भन्ने डरले जे भन्यो पूरा गरिदिन्थे’, गुल्मीको मुसिकोटबाट माल्दिभ्स आएका चालिसे आफ्नो विगत सुनाउँछन्।
दक्षिण एसियामै भएको हुनाले आवश्यक परेको बेला घर फर्किन सजिलो पर्ने, राम्रो हावापानी, योग्यताको उचित कदर हुने हुनाले आफूलाई माल्दिभ्स मन परेको उनी बताउँछन्।
प्राविधिक जनशक्तिका लागि माल्दिभ्स निकै राम्रो भएको उनको बुझाइ छ। त्यसैले अवसरको खोजी गरिरहेका नेपाली इन्जिनियरका लागि माल्दिभ्स राम्रो गन्तव्य बन्न सक्ने उनी बताउँछन्।
सेवासुविधा राम्रो छ। ढुक्क भएर काम गर्ने वातावरण छ। छुट्टी पनि पाइन्छ,’ उनले भने, ‘एउटा पेसाकर्मीले अपेक्षा गरेका कुराहरु माल्दिभ्समा पूरा हुन्छन्।’
बुटवलमा प्रदेश राजधानीका लागि भवन खोज्दै सरकारी टोली
पुस १, २०७४। रुपन्देही : पाँच नम्बर प्रदेशको राजधानी बुटवलमा बनाउनका लागि मन्त्रालय बस्न सक्ने सम्भावित भवनहरुको खोजी भएको छ। क्षेत्रीय प्रशासन कार्यालय पोखराका सह क्षेत्रीय प्रशासक बाबुराम गौतमको नेतृत्वको टोलीले बुटवलमा मुख्यमन्त्रीको कार्यालयदेखि मन्त्रालय बस्नसक्ने सम्भावित भवन र क्षेत्रहरुको अध्ययन गरेको छ।
‘बुटवलमा प्रदेशको राजधानी बनाउनका लागि आवश्यक पर्ने प्रशस्त कार्यालयहरु रहेका छन्,–बुटवलमा भवनको खोजीमा आएका क्षेत्रीय सह प्रशासक गौतमले भने–मुख्यमन्त्रीको कार्यालयदेखि मन्त्रालयहरु बस्नका लागि आवश्यक कार्यालयहरु पर्याप्त भेटिए।’
उनले सरकारी कार्यालय तथा निजी क्षेत्रका ठूला भवनहरुको समेत अवलोकन गरेका छन्। ‘प्रदेशको राजधानी बनाउनका लागि बुटवलमा ठूलो जोडबल देखियो, निजी क्षेत्रले आफ्ना भवनहरु दिनका लागि तयार छन्–उनले भने–बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघले समेत हाम्रा कार्यालयहरु सरकारले उपयोग गर्नसक्छ भनेर लिखित रुपमै दिएका छन्।’
गौतम नेतृत्वको टोलीले बुटवलस्थित श्रम कार्यालय, सडक डिभिजन कार्यालय, ईलाका प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, राजस्व अनुसन्धानको कार्यालय, सीप विकास तालिम केन्द्र, इलाका वन कार्यालय, नापतौल तथा गुणस्तर कार्यालयलगायतका कार्यालयहरुको भवन निरिक्षण गरेको हो।
‘श्रम कार्यालयको विशाल भवन बनिरहेको छ, यहाँ ३–४ वटा मन्त्रालय राख्न सकिन्छ, राजस्व अनुसन्धानको भवनमा २ वटा मन्त्रालय राख्न सकिन्छ, ईलाका प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालयका भवनहरु बनिरहेका छन्, यी र अरु पहिले देखिकै भवनहरु रहेका कार्यालयहरु पनि पर्याप्त छन्,–गौतमले निरीक्षण पछि भने–‘यहाँ भवन अपुग हुने देखिँदैन, चलिरहेका कार्यालयहरुलाई अन्यत्र सारेर मन्त्रालयहरु राख्न सकिन्छ र अधिकांश भवनहरु नयाँ रहेकाले व्यवस्थापन गर्न पनि सहज हुन्छ।’
उनले बुटवलमा राजधानी बनाउनका लागि पर्याप्त संरचनाहरु देखिएको र सहजै कार्यालय सञ्चालन गर्न सकिने बताए।
‘पाँच नम्बर प्रदेशको राजधानीका लागि बुटवलमा कुनै समस्या देखिएन, उनले भने–सरकारले क्षेत्रीय प्रशासन कार्यालयमार्फत प्रतिवेदन तयार गर्न भनेको छ, हामी बुटवल उपयुक्त छ र कार्यालयहरु पर्याप्त छन् भनेर प्रतिवेदन पेश गर्नेछौं।’
निजी क्षेत्रसँग छलफल
टोलीले निजी क्षेत्रसँग सरकारले माग गरेमा भवन उपलब्ध गराउन सक्ने÷नसक्ने विषयमा छलफल गरेको छ।
छलफलका क्रममा निजी क्षेत्रले प्रदेशको राजधानी बुटवलमा बनाउनका लागि पहल गरिरहेको र राजधानी बुटवल बनाउनका लागि भवन उपलब्ध गराउन तयार रहेको बताएको छ।
‘हामीले सरकारले माग गरेमा आफ्ना भवनहरु दिन तयार छौं,–बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले भने–‘सरकारले लिजमा माग्छ भने लिजमा र खरिद गर्न माग्छ भने खरिद गर्न दिन्छौं, यसमा हामीमा समस्या छैन, राजधानी बुटवल बनाईयोस्, हाम्रो मुख्य माग नै यही हो।’