
नारायणीमा पानीको बहाव कम भयो जब खोलियो गण्डकी ब्यारेजका सबै ढोका
नारायणीमा पानीको बहाव कम भयो जब खोलियो गण्डकी ब्यारेजका सबै ढोका सरकारको आग्रहमा गण्डक बाँधको ढोका खोलिएपछि नारायणी नदीमा पानीको बहाव खतराको संकेतभन्दा तल झरेको छ।
नवलपरासीस्थित नारायणीमा आइतबार राति खतराको संकेतनजिक पुगेको पानीको बहाव सोमबार बिहानबाट घट्न थालेको हो। नदीमा पानीको बहाव ७.३ मिटर भए खतराको संकेत मानिन्छ। आइतबार रातिसम्म यही विन्दुमा रहेको पानीको सतह सोमबार बिहान ५.८६ मिटरमा झरेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए।
उनका अनुसार नेपालको बाटो हुँदै जाने भारतीय नहर बन्द गरिएको र गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि नदीको बहाव विस्तारै कम हुँदै गएको हो। सरकारको आग्रहपछि भारतले कोशी, गण्डक र लक्ष्मणपुर बाँधको सबै ढोका खुल्ला गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।
परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय समकक्षी सुष्मा स्वराजलाई बाँधका ढोका खोलिलिन आग्रह गरेका थिए। उनका अनुसार स्वराजले कोशी लगायत अन्य बाँधका ढोका खोल्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी गराएकी छन्।
गण्डक बाँध खोलिएपछि नारायणी नदी आसपास क्षेत्रमा समस्या नदेखिएको रानामगरको भनाइ छ। जिल्लामा हुनसक्ने अप्रिय घटना हेरेर राहत र उद्धार जारी राखेको उनले बताए।
नदीमा पानीको बहाव ८.४ मिटर पुगे उच्च जोखिम मानिन्छ। पहाडी क्षेत्रमा लगातार वर्षा हुँदा नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको हो।
यसैबीच वर्षाका कारण नवलपरासीको राजमार्ग क्षेत्रका बजार, सदरमुकाम परासीसहित जिल्लाको ग्रामीण क्षेत्रका गाउँमा स्थानीयवासी प्रभावित बनेका छन्। सहर केन्द्रितभन्दा ग्रामीण क्षेत्रमा वर्षाका कारण जनमानसको जीवनयापन थप कष्टकर बन्दै गएको छ।
नारायणी नदीका वन्यजन्तु फेला नवलपरासीस्थित नारायणी नदीमा पानीले बगाएका वन्यजन्तु फेला परेका छन्। ती कुनै जीवित अवस्थामा छन् त कुनै मृत। एउटा गैंडा नारायणी नदीको १६ नम्बर ठोकरमा बाहिर निस्किन सफल भएको छ। जीवित फेला परेका वन्यजन्तुलाई प्रहरीमा बुझाइएको छ।
ती सबै जनावरलाई वर्षाको भेलले राष्ट्रिय निकुन्जबाट बगाएर नारायणी नदीमा ल्याएका हुन्। तिनको संख्या भने यकिन छैन।
स्थानीय आरपी उपाध्यायका अनुसार मृग, हरिण, जरायो, बँदेल, स्यालजस्ता वन्यजन्तु फेला परेका छन् केही वन्यजन्तु मरेको अवस्थामा नदीमा देखिने गरेको पाइएको छ।
Source: Setopati