‘म यस्तो गीत गाउँछु’को बम्पर ओपनिङ

SHARE

नेपाली फिल्मको व्यापार हेर्ने हो भने एउटा चल्दा मख्ख परेपनि त्यसपछि फेरि निराश हुनुपर्ने अवस्था छ । एउटा फिल्मले करोडौं व्यापार गर्दा मख्ख हुने नेपाली फिल्मीकर्मी त्यसपछि फेरि सुनसान हुने गरेका छन् ।

यसवर्ष नेपाली फिल्ममा दर्शकको खडेरी लागेको अवस्थामा आज शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु’ले भने सुखद ओपनिङ गरेको छ । काठमाण्डौमा फिल्मको वितरणको जिम्मा लिएका वितरक गोपाल कायस्थले भने,'यो बम्पर ओपनिङ हो । गोपिकृष्णमा कृष्णमा लागेको फिल्म २ बजेको शोबाट गोपीमा सारिएको छ ।

हिन्दी फिल्म 'जग्गा जासुस'लाई नेपाली फिल्मले विस्थापित गरेको छ । मल्टिप्लेक्स र सिंगल दुबैमा चलचित्रको ओपनिङ बम्पर हो ।' उनका अनुसार, अष्टनारायण हलमा पनि फिल्म २ वटा पर्दामा चलिरहेको छ । यस्तै, काठमाण्डौ बाहिर पनि फिल्मले बम्पर ओपनिङ गरेको वितरक मनोज राठीले बताए । उनले भने,'पोखरामा १२ बजेको शोमा डेढ लाख, वुटवलमा १ लाख र चितवनको जलमा हलमा पनि व्यापार राम्रो छ ।' दर्शकले फिल्मको बिषयमा सुखद प्रतिक्रिया दिएकाले आइतबार काठमाण्डौ बाहिर थुप्रै हल बढ्ने वितरक राठी बताउँछन् ।

निर्माता तथा निर्देशक सुदर्शन थापाले भने,'शुक्रबारको व्यापारबाट अत्यन्तै उत्साहित छु । फिल्म लामो समयसम्म चल्छ भन्ने लागेको छ ।' नायिका पूजा शर्माले पनि जय नेपाल, अष्टनारायण लगायतका हलमा पुगेर दर्शकसाग बसेर फिल्म हेरिन् । उनले दर्शकले दिएको मायाले अत्यन्तै उत्साहित भएको बताइन् ।

वर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत'मा समावेश शिर्ष गीत सापटी लिएर निर्माण भएको फिल्म 'म यस्तो गीत गाउँछु'लाई 'प्रेमगीत' फेम निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन् । फिल्ममा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।

सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेको हुन् । यो फिल्मलाई सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् ।

म यस्तो गीत गाउँछु’को बम्पर ओपनिङ

SHARE

Author: verified_user