देउवाज्यू, बाँध र साँध बारे बोल्ने कि मोदीको भोज मात्रै खाएर फर्किने ?
– सरगम भट्टराई
मलाई एकजना अमेरिकन साथीले चासोपूर्वक सोध्यो- ह्वेन यू गाईज सेलिब्रिट योर फ्रिडम डे ? मैले शिर ठाडो पारेर गर्वका साथ भनेँ, ‘वि नेभर ह्याड ए फ्रिडम डे बिकज वि नेभर सरेन्डर्ड विद एनिबडी ईन दि हिस्ट्री एण्ड वि आर दि वन्ली वन, हू ह्याज नो फ्रिडम डे !’ अर्थात हाम्रो कुनै स्वतन्त्रता दिवस थिएन । किनकी हामीले इतिहासमा कसैसँग आत्मसमर्पण गरेनौँ। अमेरिकी साथी दंग पर्यो, मसँग कुरा अगाडि बढ्दै गर्दा उसले आफ्नो स्मार्टफोनमा गुगल गरिहाल्यो र भन्यो, ‘ह्वाई यु गाईज आर हेयर फर ?’
मेरो अघिसम्मको ठाडो शिर लाजले निहुरियो, मैले मेरो देशको कमजोर र भ्रष्ट राजनीति बारे उसलाई बताउन चाहिन। प्रसंगलाई तोडमतोड गरेर नेपालका प्रकृति र इतिहासका बारेमा थप जान्न मसंग भएको एउटा किताब Lonely Planet Publications को Trekking in the Nepal Himalaya हातमा थमाईदिएँ र भनेँ ‘लेट मि गेट ईट ब्याक ह्वेन यु रिड ईट !’ गोरे साथीले हार्दिकताका साथ ‘स्योर थ्याङ्क यु !’ भन्यो र आफ्नो बाटो लाग्यो। एकाएक मेरो तन्द्रा भंग भयो, मोवाइलको स्क्रिन स्क्रोल गर्दै हेरेँ, देउवाज्यूले आफ्नै पुरानो मन्त्रिमण्डललाई माथ गरेर ५० सदस्यीय मन्त्रिमण्डल गठन गरिसक्दा पनि चारवटा मन्त्रालय उनी आफैसँग रहेछन्।
एउटा अनलाइनले समाचार लेख्यो – ‘थपिएका मन्त्रालयबाट मासिक दश करोड राज्यलाई भार पर्नेछ।’ त्यस्तै अर्को समाचार थियो, दुई रोपनी जग्गामा अपार्टमेन्टको प्रयोजनका लागि भनेर बनेको भवन कसैले नकिनेपछि त्यसैमा अस्पताल राखिएको सुनसान काठमाडौ नेशल मेडिकल कलेजलाई त्रिविले सम्बन्धन दिएछ, जतिबेला उपत्यकामा हैन्, थप मेडिकल कलेजहरु दूर दराजमा मात्र खोलिनुपर्छ भनेर डाक्टर गोबिन्द केसीले एघारौँ पटक सत्याग्रह गरेको तीन दिन भैसकेको थियो। बाढीपहिरोले पूर्वी नेपालको तराई क्षेत्र र नवलपरासी, बाँके र बर्दियामा सयौँको मृत्यु र हजारौँ मान्छे घरबारबिहीन भएका थिए। भ्रष्टाचारका समाचार नभएका कुनै अनलाइन पोर्टलहरु थिएनन्। संबिधान संशोधन प्रस्ताव दुई तिहाई नपुगेर फ़ेल भएको थियो, संसदमा बिचाराधीन स्वास्थ्य शिक्षा बिधेयक ज्यूँकात्यूँ थियो, अरु यस्ता धेरै समाचारहरुले देशको दुर्बलतालाई जोडतोडले प्रचारप्रसार गरिरहेका थिए। पत्रकारहरु दलको अलिखित ब्यानरमा चुनाव लडिरहेका थिए।
संयोग नै मान्नु पर्छ – तीजको दर खाने दिन प्रधानमन्त्रीको भारत भ्रमणको साइत जुरेपछि देउवाज्यू ठूलो दलबलका साथ प्रधानमन्त्री बन्ना साथ सबैले गर्दै आएको त्यसतर्फको भ्रमणमा जानुभयो, जतिवेला भारतकै हेपाहा प्रबृतिले सीमा क्षेत्रमा बनाइएका बाँध, बाटो र अन्य संरचनाले गर्दा हप्तौँसम्म डुबेको जमिनमा बाँचेका मान्छेहरु बिभिन्न महामारीको सामना गरिरहेका थिए, राहतको काम प्रभावकारी भएकै थिएन। नेपालको इतिहासमा जति जति प्रधानमन्त्रीहरु भारत भ्रमणमा गएका छन् कुनै न कुनै रुपमा देशलाई दीर्घकालीन रुपमा घाटा हुने सन्धि सम्झौता आदि गरेर आएका छन्। सन् १९५० को असमान सन्धिदेखि कोशी, गण्डक र महाकाली आदि सन्धिहरुबाट नेपाल नराम्ररी ठगिएको छ। सामान्य आर्थिक सहयोगको ललिपप देखाएर भारतले हाम्रा सामरिक महत्वका क्षेत्रहरुमा हस्तक्षेप गरिरहेको छ। त्यसमाथि देशका सबैजसो ठूला साना दलहरु भारतकै ग्राण्ड डिजाइन अनुसार चल्छन्। नेपालको सत्ताको वास्तविक साँचो भारतसँग नै छ भन्ने कुरा चारैतिर प्रष्ट छ।
भारतका नागरिकसँग हाम्रो रोटीबेटीको सम्बन्ध छ, हाम्रा अवसर, चुनौति र सम्भावना तथा सम्बेदनाहरु पनि मिल्छन। हाम्रो देश बर्षौदेखि कसैको गुलाम हुनुपरेन। भूगोलको रुपमा सानो भए पनि एउटा स्वतन्त्र राष्ट्रको रुपमा हाम्रो इज्जत छ र हुनुपर्छ। तर, हामी हाम्रै राजनैतिक नेताहरुकै कारणले हाम्रो गौरवको इतिहास हाम्रो वर्तमानसँग बिरोधाभास भएको टुलुटुलु हेरिरहेका छौँ। इन्धनदेखि सियोसम्म हामीले भारतबाटै आयात गर्छौ तर पनि स्वाभिमानका आधार तयार गर्न भन्दा राजनैतिक ‘सेन्टिमेन्ट’ हासिल गर्न मात्र लिप्त छौँ। भारतले बिगतमा क्रुर तरिकाले नाकावन्दी लगाएपछि देशमा स्वाभिमानबारे धेरै बहस भए। एकथरी बिश्लेषकहरु भारतको अगाडि लम्पसार पर्ने र देशका हरेक पक्षमा भारतको सदाशयता देख्न चाहनेहरु र अर्कोथरि सतही रुपमा भारतको बिरोध गरी जनताको ‘सेन्टिमेन्ट’ हात पार्नेहरु। भारतको अघि लम्पसार पर्नुभन्दा अन्तराष्ट्र्रिय मन्चमा आफ्ना हकहितका कुरा राख्नु र देशमा स्वाभिमानका सूचकहरु बृद्दि गर्नु निश्चय पनि राम्रो हो । तर, बिरोध चाहिँ गर्ने काम चाहिँ सुको नगर्ने र गर्न नदिने अवस्थाले नेपाल भारत सम्बन्ध अझ जटिल बन्दै गइरहेको छ। दुबै खाले अतिवादी सोचबाट मुलुकलाई बचाउनु र समृद्द नेपाल बनाउनु आजको बिशेष आवश्यकता हो।
१९५० लगायतका सबै असमान सन्धि सम्झौताको पूनरावलोकन, हजारौं हेक्टर सिमाना मिचिएका बिवाद, बाँध र नयाँ समस्याका रुपमा दोहोरो नागरिकता, खुला सिमा, सुपुर्दुगी सन्धि असन्तुलित बजार जस्ता थुप्रै मुद्दाहरु बारे बोल्दै नवोल्ने र केवल भोज खाएर आउने भए देउवाको प्रधानमन्त्रीको हैसियतमा चौथो भारत भ्रमण पनि गुलामीको पराकाष्ठा बाहेक केही हुन सक्दैन। त्यसैगरी भारत चीनबीचका नयाँ बिवादका बिषयहरु र नेपालको तटष्ठता बारे पनि भारतसँग बैचारिक बहश गर्नु र बिगतका असमान सन्धि सम्झौता खारेज गर्न आफ्नो माग देउवाले जोडदार रुपमा राख्छन् भन्नेमा सर्वत्र शंका छ। किनकी मर्यादा बिर्सिएर मध्यरातमा लैनचौरमा भोज खान गएर पद र कद बचाउन शरण पर्नेहरुकै प्रतिनिधि पात्र हुन् देउवा ।
देउवाले लगाएको कलंकको टिका मेट्न प्राबिधिक रुपमा धेरै काम गर्न आवश्यक छैन् केवल सिमानाका समस्या तथा भारत सरकारले कुटिल रुपमा सम्झौता गरेर बिगतमा बनाएका बाँधका समस्याका साथै भूपरिबेष्ठित देशका अधिकारका बारेमा नबोल्ने हो भने उनको भ्रमणको कुनै अर्थ हुने छैन, यो भ्रमण पनि मोदीबाट अनौपचारिक सपथ बाहेक केही हुने छैन्। थाहा छ, देउवाले यो सब केही गर्न सक्ने छैनन् तर एउटा जिम्मेवार नागरिकको रुपमा मैले दिएको सुझाव मनन गरे तीन करोड बढी नेपाली र स्वयम् देउवाकै राजनैतिक जीवनका लागि राम्रो हुनेछ। फेरि पनि भन्छु – ‘देउवाज्यू ! बाँध र साँध मिलाउने कि ओहदाको प्रमाणपत्र बुझाउन र भोज खान मात्र भारत जाने ?’